मकवानपुर । सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडा, मकवानपुरले भत्काएका घरहरूमा जोखिमपूर्ण रूपमा व्यापार भैरहेकोमा प्रशासनले रोक्न निर्देशन दिएको छ ।
गएको मङ्सिर २० गते सडक विस्तारका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्मका मुख्य सडकको दायाँबायाँ सडक सीमा क्षेत्रभित्र पर्ने घरहरू सडक डिभिजन कार्यालयले भत्काएको थियो । तर सर्वाेच्च अदालतको आदेशका कारण अहिले सडक विस्तारको कार्य रोकिएको छ ।
भत्काएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीले जोखिमपूर्ण घरमै व्यापार गरिरहेका छन् । आफूहरू अन्योलमा रहेको स्थानीय व्यापारी रोशन श्रेष्ठले बताउनुभयो । तत्कालका लागि ‘स्टक’ मा रहेको सामान मात्र बिक्री गरिरहेको उहाँले बताउनुभयो । सडक विस्तारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले सडक विस्तारको काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी यादव सुवेदीले बताउनुभयो ।
भत्किएका घरमा व्यापार सञ्चालन नगर्न व्यापारीलाई आग्रह गरिएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारका लागि भत्काइएका जोखिमपूर्ण घरहरूमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ । जिल्ला प्रशासनले सूचना निकालेर जोखिमपूर्ण अवस्थामा रहेका घरटहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न भनेको हो ।
यदि कसैले बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको घटना वा दुर्घटना भए त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउन अनुरोध गरिएको छ ।