काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन् ।
महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ ।
जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरू हुनेछ । उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ ।
यस्तो छ जुलुस निस्कने रुटः
रुट नम्बर १
जम्मा हुने स्थान : सुन्धारा
सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन् । काठमाडौं निर्वाचन क्षेत्र ८,९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् । जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।
रुट नम्बर २
जम्मा हुने स्थान : रत्नपार्क
नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी क्षेत्रका साथै निर्वाचन क्षेत्र ५, ६ र ७ का नेताकार्यकर्ता रत्नपार्कको जुलुसमा सहभागी हुनेछन् । यो जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै विशेष महाधिवेशन स्थल पुग्नेछ ।
रुट नम्बर ३
जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस
बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता यस रुटमा सहभागी हुनेछन् । काठमाडौंका क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता पनि यही जुलुसमा रहने छन् । जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।
रुट नम्बर ४
जम्मा हुने स्थान : शंकरदेव क्याम्पस
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौँ निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता यस जुलुसमा सहभागी हुनेछन् ।
यो जुलुस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ ।
रुट नम्बर ५
जम्मा हुने स्थान : कमलपोखरी
काठमाडौं निर्वाचन क्षेत्र १ र ४ का नेताकार्यकर्ता कमलपोखरीमा जम्मा भएर चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन् ।
रुट नम्बर ६
जम्मा हुने स्थान : कुपण्डोल
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेताकार्यकर्ताको सहभागिता रहनेछ । यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।
विशेष महाधिवेशनलाई लिएर देशभरबाट ठूलो संख्यामा कांग्रेस नेताकार्यकर्ता काठमाडौं भेला भइरहेका छन् । आयोजक समितिले महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जनाएको छ ।