काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै आइतबार गरेको टिप्पणीको कडा जवाफ फर्काएका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरुको, ‘बा’ हरुको जस्तो प्रश्न नै गर्न नपाउने पार्टी नभएर लोकतान्त्रिक पार्टी भएको भन्दै एमालेमाथि कटाक्ष गरेका थिए ।
पोखरेलले सामाजिक संजालबाट भुराजनीतिक स्वार्थसामु लम्पसार परेर राष्ट्रिय स्वाभिमान झुकाउने, देश जल्दा उत्सव मनाउनु ठीक भनेर निष्कर्ष निकाल्नेहरुले त्यसरी टिप्पणी गर्नु स्वभाविक भएको भन्दै पोखरेलले कडा जवाफ फर्काएका छन । पोखरेलले थापाले विदेशी स्वार्थ र विध्वंसकारीको एजेन्डाको नेतृत्व गर्दै एमालेमाथी प्रहार गर्न खोजेको पोखरेलले प्रष्ट संकेत गरेका छन् ।
‘म त पाहुना हुन आएको हो । भोलि बन्दसत्रले जे निर्णय गर्छ, मलाई आपत्ति छैन । तर कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मान्छेको पार्टी हो,’ थापाले भनेका थिए, ‘यहाँ प्रश्न मरेको छैन । नबोल भन्दै गर्दा नबोल्ने कोही छैन । यो ‘बा’ को पार्टी पनि होइन । जुन पार्टीमा प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सक्दैन, त्यसले समाधान दिन पनि सक्दैन । त्यसैले जिउँदो कांग्रेस बनाउने अभियानमा हामी लागेका छौं ।’
पोखरेलको जवाफ यस्तो छ :
यसरी पनि सोच्न सकिन्छ–स्वार्थका सामु लम्सार पर्नु दासता होस त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता होस त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।
संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्। ती स्पार्टाकस–जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।