काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश उमेश कोइराला र विदुर कोइरालको इजलासमा मंगलबार उक्त मुद्दाको सुनुवाइ हुने भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ । उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग आयोगले लगाएको छ ।
यसै अभियोगमा सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
मुद्दा दायर भएका अन्य प्रतिवादीमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी रहेका छन् ।