काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कहिलेको घटना सधैँ सम्झेर त्रसित भइरहनुपर्ने कुनै आवश्यकता नभएको बताएका छन्। एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको प्रचारमा लाग्न आग्रह गरे।
उनले रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘यिनको रिमोट कहाँ छ, यिनलाई आफै थाहा छैन। यिनको भाग्य भविष्यको फैसला कसले गर्छ त्यो यिनलाई आफै थाहा छैन।’
उनले एमालेले गरेको काम जनतामा पुर्याए मात्रै पनि चुनावी जित्ने बताए। उनले थपे, ‘हामीले गरेका काम जनतामा पुर्याए पुग्छ। कुराहरू हुन्छन्। नराम्रा कुराहरू कहिले कहिले हुन्छन्। साधारण असावधानीले पनि नराम्रा कुरा हुन्छन्। विरोधीहरूले खतरनाक योजना बनाइराखेका हुन्छन्।’
अहिले न्यायालयका मान्छे, निर्णय गर्ने निकायका मान्छेहरूलाई समेत धम्काइरहेको अवस्था रहेको बताए।
उनले भने, ‘सिरक ओढेर धम्की दिने, फेक नम्बरबाट धम्की दिनेहरू कुनै गरी खाने मान्छे हुन् ? लुकेर धम्की दिन्छ। आमनेसामने आएर धम्की दिन सक्छ ? लुकेर धम्की दिन्छ। हामी जस्तो आमनेसामनेबाट भन्नुपर्यो नि। त्यस कारण यो लुकेर धम्की दिनेहरू आफै डराइराखेका छन्।’
जेनजी का नामामा सिंहदरबारमा पनि कपाल फुलेका, महान्यायाधिवक्ताका कार्यालयमा कालो दलेका मान्छेहरू देखिएको बताए। उनले थपे, ‘जेनजीको मकुन्डो हो। भित्र अर्कै तत्त्व छ। जेनजी होइन।’