पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वीरगन्जको राधेमाईस्थित जिल्ला समन्वय समिति कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्साकी जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारका अनुसार निर्वाचन कार्यक्रमलाई व्यवस्थित र समयमै सञ्चालन गर्न कार्यालय स्थापना गरिएको हो । उनका अनुसार “निर्वाचन प्रक्रिया पारदर्शी, सुरक्षित र सहज रूपमा अघि बढाउने उद्देश्यले तोकिएका सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यक्रम अघि बढाइएको बताए । उनले भने, “निर्वाचनलाई निष्पक्ष, भयरहित र कानुनसम्मत रूपमा सम्पन्न गराउन प्रशासन, सुरक्षा निकाय र सरोकारवाला सबैसँग समन्वय गरेर काम गरिरहेका छौं । मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाइनेछ ।”
पर्सा जिल्लामा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय पनि जिल्ला समन्वय समिति परिसरमै स्थापना गरिएको छ भने क्षेत्र नम्बर ३ को कार्यालय पोखरिया नगरपालिकास्थित विद्युत प्राधिकरणको कार्यालयमा र क्षेत्र नम्बर ४ को कार्यालय धोबिनी गाउँपालिका कार्यालय नजिकै सञ्चालनमा ल्याइएको छ ।
पर्सा जिल्लामा ४४३ वटा मतदान केन्द्रमार्फत मतदान गराइने रौनियारले जानकारी दिइन् । रौनियारका अनुसार नियमित रूपमा ४४१ वटा मतदान केन्द्र कायम गरिएका छन् भने दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । तीमध्ये एक वीरगन्ज कारागारमा र अर्को नेपाली सेनाको श्रीजंग गणमा रहनेछ । कारागारमा रहेका कैदीबन्दीले त्यहीँबाट मतदान गर्नेछन् भने सुरक्षाकर्मी तथा निर्वाचनमा खटिने कर्मचारीहरूले श्रीजंग गणमा रहेको केन्द्रबाट मत दिने व्यवस्था गरिनेछ ।
निर्वाचन क्षेत्रगत रूपमा क्षेत्र नम्बर १ मा १०३, क्षेत्र नम्बर २ मा ११० तथा क्षेत्र नम्बर ३ र ४ मा समान रूपमा ११४–११४ वटा मतदान केन्द्र तोकिएका छन् । यसैगरी जिल्लाभर १६७ वटा मतदान स्थल रहेका छन् । क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ वटा मतदान स्थल कायम गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी रौनियारका अनुसार पर्सा जिल्लामा कुल मतदाता संख्या ३ लाख ७६ हजार ५१३ रहेको छ । तीमध्ये १ लाख ६४ हजार ४२१ महिला, २ लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन् । फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका मतदातालाई मतदाता सूचीमा समावेश गरिएको उनले बताइन् ।
कार्यालय स्थापना कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्ट, अनुसन्धान कार्यालय पर्साका उपनिर्देशक सन्तोष ढुङ्गेल, निर्वाचन अधिकृतहरू मधुसुदन आचार्य, बुद्धिलाल श्रेष्ठ र नुतन झा लगायतको उपस्थिति रहेको थियो ।