काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता/कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएसँगै सभापति थापाले विज्ञप्ति निकालेर नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्नुभएको छ ।
विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई उहाँले संयमता अपनाउन, जिम्मेवार बन्न र एकताबद्ध बन्न आह्वान गर्नुभएको हो । उच्च आत्मविश्वास र तयारीका साथ अबको चुनावमा लाग्नुपर्नेमा उहाँको जोड छ । पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहेकाहरुबाट लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने थापाको विश्वास छ ।
पार्टीको संस्थापन पक्षको विमतीकाबिच विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले हिजो मान्यता दिएको हो । गएको पुस २७ देखि ३० गतेसम्ममा काठमाण्डौको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । यो कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक ठहर गरेको छ ।
निर्वाचन आयोगले कांग्रेसको विधानमा रहेका प्रावधानलाई मुख्य आधार बनाएर आधिकारिकतासम्बन्धी निर्णय गरेको जनाएको छ । संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, दलसम्बन्धी नियमावली, २०७४ र दलको विधानसम्मत भए गरेको देखिएको आयोगले उल्लेख गरेको छ । विधानको धारा १७ (२) मा ४० प्रतिशत प्रतिनिधिले विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरे ३ महिनाभित्रमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ मा निवेदन दिएका थिए । त्यसलाई केन्द्रीय कार्यसमितिले बेवास्ता गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउनुभएको थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधान, पार्टी निर्णय, आयोगमा गरिएको पत्राचार हेरेर विशेष महाधिवेशन वैध रहेको निष्कर्षमा पुगेको बताउनुभएको छ ।
निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले राजनीतिक र कानुनी लडाईँ लड्ने जनाएको छ । आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने संस्थापन पक्षको तयारी छ ।