वीरगञ्ज । नेकपा एमाले पर्सा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार चयनका विषयमा भइरहेको चर्चाका बीच नेकपा एमालेका नेता तथा ओविवि महासंघका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषादले स्पष्ट र सकारात्मक धारणा सार्वजनिक गरेका छन्।
पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य प्रमोद जैसवालले चुनाव नलड्ने इच्छा जाहेर गरेपछि उत्पन्न परिस्थितिमा केही अन्य दलका नेताहरूले “एमालेमा उम्मेदवार छैन” भन्ने भ्रामक प्रचार गरेको भन्दै नेता निषादले आपत्ति जनाएका छन्। उनले यस्तो प्रचार पूर्णतः निराधार रहेको बताएका छन्।
“नेकपा एमाले विचार, संगठन र नेतृत्वको हिसाबले देशकै सबल पार्टी हो। यहाँ उम्मेदवारको अभाव होइन, योग्य र सक्षम नेतामध्ये छनोट गर्ने चुनौती मात्र हुन्छ,” नेता निषादले भने। उनले पार्टीभित्र चुनाव लड्न तयार सयौँ नेता रहेको उल्लेख गर्दै एमाले कमजोर देखाउने नियतले फैलाइएका हल्लाप्रति सचेत रहन आग्रह गरेका छन्।
नेता निषादले पार्टीको निर्णयलाई सर्वोपरि मान्ने स्पष्ट पार्दै भने, “पार्टीले जिम्मेवारी दिएमा म चुनाव लड्न तयार छु। एमालेको नीति, नेतृत्व र जनताको भरोसामाथि विश्वास राख्दै जुनसुकै भूमिकामा योगदान गर्न तयार छुँ।”
पछिल्लो प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक तर्फ उम्मेदवारका रूपमा सिफारिस भइसकेका निषाद विद्यार्थी राजनीति हुँदै संगठन विस्तारमा सक्रिय रहँदै आएका नेता हुन्। पर्सा जिल्लामा उनको राजनीतिक सक्रियता र जनसम्पर्कलाई प्रभावकारी मानिन्छ।
उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रूपमा स्थापित छ। नेता निषादका बाजे तथा बुवासमेत विभिन्न समयमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कारण उनी राजनीतिक अनुभव र संस्कारबाट हुर्किएका नेता भएको पार्टी नेताहरूको भनाइ छ।
पर्सा क्षेत्र नं. ३ मा उम्मेदवार चयनको प्रक्रिया अघि बढिरहेका बेला नेता तेजप्रकाश निषादको स्पष्ट, संयमित र सकारात्मक अभिव्यक्तिले एमाले कार्यकर्ता तथा समर्थकमा उत्साह थपिएको देखिन्छ।