पर्सा । नेकपा एमालेका नेता तथा मधेश प्रदेश सभा सदस्य प्रमोद जयसवालले आफ्नो उम्मेदवारी र पार्टी परित्यागको हल्लालाई पूर्ण रूपमा खण्डन गर्नुभएको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जयसवालले निर्वाचनको मुखमा आफूविरुद्ध फैलाइएका भ्रामक प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो।
पार्टीको माघ ३ गतेको केन्द्रीय सचिवालय बैठकले पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि जयसवाललाई उम्मेदवार छनौट गरेको थियो। विगत ३ वर्षमा उनले गरेका विकास निर्माणका कार्य र स्वच्छ छविको उच्च मूल्यांकन गर्दै पार्टीले सो निर्णय गरेको थियो। उम्मेदवारी सार्वजनिक भएपछि क्षेत्रबासी र कार्यकर्तामा उत्साह छाएको उनले उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल र केही माध्यमबाट "लाखौँ रुपैयाँमा टिकट किनेको" भन्ने प्रचारको कडा प्रतिवाद गर्दै उनले भन्नुभयो: "नेकपा एमाले पैसामा टिकट बाँड्ने पार्टी होइन। मैले उम्मेदवार बन्न आफैँले कतै अनुरोध समेत गरेको थिइनँ। मलाई उम्मेदवार बनाएपछि खुसी भई बधाई दिनेको ताँती लागिरहेका बेला, केही तत्वले नियोजित रूपमा आर्थिक लेनदेनको भ्रामक भाष्य निर्माण गर्न खोजेका छन्, जुन सरासर गलत हो।"
आफ्नो कार्यकाल अझै दुई वर्ष बाँकी रहेको र जिल्लाका केही अग्रज नेताहरूको असहमति देखिएकाले पार्टी एकताका लागि आफूले स्वेच्छाले उम्मेदवारी छोड्ने निर्णय गरेको उनले प्रस्ट्याउनुभएको छ। "अन्य योग्य उम्मेदवारले मौका पाउँदा र पार्टीभित्र सौहार्दपूर्ण वातावरण बन्दा नै संगठन बलियो हुन्छ भन्ने मेरो विश्वास हो," जयसवालले भन्नुभयो।
उम्मेदवारी त्यागको कुरा आएपछि अर्को पार्टीमा जान लागेको वा फोन बन्द गरेर बसेको भन्ने टिप्पणीहरू पूर्णतः झुठो रहेको उहाँले बताउनुभयो। सोमबार दिनभर आफू निर्वाचन क्षेत्रकै जनताको बीचमा रहेको र पार्टीको आधिकारिक उम्मेदवारलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
जयसवालले मंगलबार बिहान १०:३० बजे नेकपा एमालेको पार्टी कार्यालय पोखरियामा उपस्थित भई पार्टीका आधिकारिक उम्मेदवारको मनोनयन दर्तामा सहभागी हुन र एमालेको विजय सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।