रौतहट । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको पूर्व–पश्चिम झण्डा मार्च टोली रौतहटबाट बारातर्फ प्रस्थान गरेको छ।
गत पुस २० गते पूर्वी सीमा झापाबाट सुरु भएको झण्डा मार्च टोली आइतबार साँझ रौतहट आइपुगेको थियो। सो टोलीले सोमबार साँझ रौतहटबाट बारातर्फ यात्रा अगाडि बढाएको सशस्त्र प्रहरीले जनाएको छ।
रौतहटको बौधिमाई नगरपालिका–७ बडाबंकुलस्थित अरुवा खोलानजिक, भारततर्फ पूर्वी चम्पारणको झरौखर ग्राम पञ्चायत–५ अन्तर्गत सानो सीमा स्तम्भ नं. ३५६/३ नजिक औपचारिक कार्यक्रम गरी झण्डा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका प्रमुख एसपी रामहरि अधिकारी नेतृत्वको टोलीले ल्याएको नेपालको राष्ट्रिय झण्डा तथा सशस्त्र प्रहरी बल नेपालको झण्डा नं. १२ गण हे.क्वा. बाराका प्रमुख एसपी खुमबहादुर के.सी. नेतृत्वको टोलीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादव, उपमेयर प्रमिला देवी, रौतहटका सिडियो दिनेश सागर भुसाल, रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्की, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकी, बाराको सिमौनगढ नगरपालिकाका मेयर किशोरी प्रसाद कलवार,सीमा सुरक्षा गुल्म हे.क्वा. गौरका डीएसपी प्रेम सागर बिष्ट, पिपरपाती बाराका गुल्मपति डीएसपी नबिन अधिकारी, भारतीय समकक्षी सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) नं. ७१ बटालियन एफ कम्पनीका असिस्टेन्ट कमाण्डर ट्चोस्गियल नेतृत्वको टोली, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
झण्डा मार्च टोलीले नेपाल–भारत सीमा क्षेत्रमा पैदल मार्च गर्दै माघ ११ गते पर्सा जिल्लाको सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीमा पुगेर कार्यक्रमको औपचारिक समापन गर्ने सशस्त्र प्रहरीले जनाएको छ।