वीरगन्ज। नेपाली कांग्रेसले बाराका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । उम्मेदवार छनोटसँगै सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबिचको आन्तरिक विवाद खुला रूपमा सतहमा आएको छ ।
विशेष महाधिवेशनका क्रममा सभापति थापालाई बारामा सघाएका सबै नेताले टिकट पाएको बारा जिल्ला कांग्रेसका सचिव भैयाराम यादवले बताए । उनका अनुसार बाराका चारै निर्वाचन क्षेत्रमा गगन थापा पक्षधर उम्मेदवार चयन भएका छन् भने देउवा समूह पूर्ण रूपमा बाहिरिएको छ ।
कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर–१ बाट शम्भुबहादुर बुढाथोकी, क्षेत्र नम्बर–२ बाट भैयाराम यादव, क्षेत्र नम्बर–३ बाट सहमहामन्त्री फर्मुल्लाह मन्सुर र क्षेत्र नम्बर–४ बाट श्यामबाबु गुप्तालाई उम्मेदवार बनाएको छ ।
उम्मेदवार छनोटसँगै देउवा पक्षका प्रभावशाली नेताहरू एकैपटक टिकटबाट वञ्चित भएका छन् । पूर्वमन्त्री तथा निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरी र कांग्रेस बाराका पूर्व सभापति राधेचन्द्र यादवले यस पटक टिकट पाउन सकेनन् ।