काठमाण्डौ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गएको पुस ३ गतेदेखि शुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गाणना गरिँदैछ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम शुरु गरिएको छ । त्यसका लागि तालिम दिएका १ सय ५० गणकहरू गणनामा खटिएका छन् । दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो ।
यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो । चितवन–पर्सा ब्लकमा ९ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ ।
याेसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।