काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ नेपाली सेना मुलुकभर आजबाट परिचालित हुने भएको छ । निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुने भएको हो । सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय भएको छ । सोही फौज बुधबारबाट फिल्डमा देखिने गरी परिचालन हुन लागेको हो ।
परिचालित सेना एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार फिल्डमा खटिनेछन् । सुरक्षा योजनाअनुसार सेना निर्वाचन सुरक्षाको तेस्रो घेरामा रहनेछ । यो भनेको प्रत्येक मतदानस्थल आसपासका क्षेत्रमा संयुक्त तथा एकल गस्ती गर्ने, भिभिआइपी तथा भिआइपी रहने निवास क्षेत्रको सुरक्षा गर्नु हो । त्यसबाहेक कारागार, सुरक्षा निकायका हेडक्वार्टर, बैंक, विमानस्थलजस्ता सामरिक महत्वका क्षेत्र सुरक्षा गर्ने जिम्मा पनि सेनाको रहनेछ । यसका लागि आवश्यक बेस स्थापना गर्नुपर्ने हुन्छ । परिचालित सेनाले पहिलो चरणमा यही काम गर्नेछ । जसका लागि आवश्यक सहयोग सेनाले जिल्लास्थित गुल्म, गण, बाहिनी र प्रदेशस्थित पृतनाबाट लिनेछ ।
गृह मन्त्रालयले गत ३० कात्तिकमै एकीकृत निर्वाचन सुरक्षा योजना, ०८२ स्वीकृत गरेको थियो । सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर र निर्वाचन प्रहरी गरी कुल तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी निर्वाचनको दौरानमा खटिँदै छन् । जसअनुसार सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर एक हजार ९२१ खटाउने निर्णय भएको छ ।
सेना, प्रहरी र सशस्त्रका सुरक्षा फौजबिच सुरक्षा कार्यविधि स्वीकृत भएलगत्तै संयुक्त रूपमा आवश्यक तालिम यसअघिबाटै चल्दै आएका छन् । यसक्रममा उनीहरूले संयुक्त पेट्रोलिङ, ड्रिलिङ, गस्तीलगायत तालिम लिइरहेका छन् ।
यसक्रममा भिभिआइपी र भिआइपी क्षेत्र तथा व्यक्तिको सुरक्षाका क्रममा अपनाइने रणनीति, निर्वाचन बिथोल्ने समूहको पहिचान र कारबाहीजस्ता विषयमा पनि उनीहरूले तालिम लिएका छन् । निर्वाचनका वेला हुन सक्ने झडप रोक्न अपनाइने आवश्यक तयारी, उम्मेदवारको सुरक्षा, मतपेटिकाको रक्षाजस्ता विषयमा पनि उनीहरूले तालिम लिएका छन् ।