काठमाण्डौ । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको चहलपहल बढ्दै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता खोज्दै तराइका जिल्ला झर्न थालेका छन् ।
लुम्बिनीको पहाडी जिल्लाका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवार मतदातासँग भेटघाट र आफ्नो पक्षमा मत माग्न रूपन्देही र कपिलवस्तु केन्द्रित हुन थालेका छन् । उनीहरूले तराइका जिल्लामा आ–आफ्ना पार्टीका भेला, बैठक र मतदातासँग प्रत्यक्ष भेटेरै मतदाता रिझाउने प्रयास थालेका हुन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये एउटा हिमाली जिल्ला पूर्वी रुकुम र अन्य पाँच पहाडी जिल्ला पर्छन् । पहाडी जिल्लाका धेरै मतदाता बसाइ सरेर वा कामका लागि रूपन्देही, कपिलवस्तु झर्ने गरेका छन् । तर धेरैजसो मतदाताको नामावली भने स्थानान्तरण नभएकाले चुनावका बेला उम्मेदवार नै मत माग्न तराइ पुग्ने गर्छन् ।
उम्मेदवारहरूले जिल्लामा प्रचारप्रसारका कार्यक्रमसँगै बुटवल, भैरहवा, कपिलवस्तुलगायत ठाउमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् । रुपन्देहीको बुटवल र भैरहवामा कार्यकर्ता भेला तथा बैठक गरेर उम्मेदवारले फागुन २१ को चुनावमा मतदान गर्न जिल्ला फर्कन आह्वान समेत गरेका छन् ।
यसबाहेक पनि नवलपरासी, दाङ, पोखरा, काठमाण्डौलगायत ठाउँमा रहेका मतदातालाई पनि भेटेर या अन्य माध्यमबाट सम्पर्क गरी मतदानमा सहभागी हुन आह्वान गरिएको उम्मेदवारको भनाइ छ ।
प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदाता केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम निर्वाचन आयोगले गर्ने बताउनुभयो । आयोगले फागुन पहिलो हप्तादेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।