काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी ले काभ्रेमा विशेष सुरक्षा योजना लागू गरेको छ। सो योजनाबारे जानकारी दिन आयोजित छलफल कार्यक्रममा काभ्रे प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कोमल शाह ले उम्मेदवारहरू तथा सरोकारवालासमक्ष विस्तृत प्रस्तुति दिएका छन्।
कार्यक्रममा बोल्दै एसपी शाहले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको विश्वसनीयता कायम राख्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गरे। उनले भने, “निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी प्रतिबद्ध छ। कुनै पनि प्रकारको अवाञ्छित गतिविधि सह्य हुँदैन। सुरक्षा संयन्त्र पूर्ण तयारी अवस्थामा रहेको छ।”
उनका अनुसार मतदान केन्द्रको संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्थापन, आवश्यक स्थानमा अतिरिक्त प्रहरी परिचालन, गस्ती तथा निगरानी व्यवस्था सुदृढ पारिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै रणनीतिक योजना तयार गरिएको र समन्वयात्मक ढंगले काम अघि बढाइएको उनले बताए।
एसपी शाहले उम्मेदवार, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरूसँग सहकार्य र संयमता अपनाउन आग्रह गर्दै अफवाह फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरे। “सुरक्षा निकाय मात्रैले होइन, सबै पक्षको जिम्मेवार भूमिकाले मात्र निर्वाचन सफल हुन्छ,” उनले स्पष्ट पारे।
छलफल कार्यक्रममा सहभागी उम्मेदवार तथा सरोकारवालाहरूले सुरक्षा योजनाबारे जिज्ञासा राख्दै आवश्यक सुझाव समेत दिएका थिए। प्रहरी प्रशासनले प्राप्त सुझावलाई सकारात्मक रूपमा लिँदै आवश्यक समायोजन गरिने जनाएको छ।
नेपाल प्रहरीले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउँदै नागरिकको सुरक्षा र मताधिकारको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।