काठमाडौँ । इलाका प्रहरी कार्यालय रत्ननगर–टाँडीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्ट बागमती प्रदेशको माघ महिनाका लागि ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मी ले उत्कृष्ट कार्यसम्पादनका आधारमा भट्टलाई प्रशंसापत्र प्रदान गरेका हुन्। अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ, तथा शान्ति–सुरक्षा सुदृढीकरणमा उनले प्रभावकारी नेतृत्व प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
गोर्खा जिल्लाका स्थायी बासिन्दा भट्टले २०७० सालदेखि प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। सेवाकालको अवधिमा विभिन्न जिल्लामा जिम्मेवारी सम्हाल्दै उनले अनुशासन, इमानदारी र व्यावसायिक दक्षताको परिचय दिएका छन्। केही महिना अघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि उनले अपराध नियन्त्रण तथा समुदाय–प्रहरी सहकार्य सुदृढ बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
सम्मान ग्रहणपछि डीएसपी भट्टले संगठनप्रतिको निष्ठा र जनताको विश्वास नै आफ्नो कार्यको मुख्य प्रेरणा रहेको बताए। उनले भने, “प्रहरी सेवा केवल पेशा होइन, जनताको सुरक्षाप्रतिको प्रतिबद्धता हो। अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम राख्न हामी निरन्तर सक्रिय छौँ। आगामी दिनमा अझ जिम्मेवारीपूर्ण ढङ्गले सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी घोषणा कार्यक्रममार्फत कर्तव्यनिष्ठ र परिणाममुखी कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्दै आएको जनाएको छ।