पर्सा । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकिएको छ । गएको पुस ३ गतेदेखि शुरू गरिएको बाघ गणना हिजो सकिएको हो ।
चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा सङ्कलनको काम सकिएको छ । उहाँले तीनवटै ब्लकमा १३ टोलीले काम गरेको हो । उहाँका अनुसार पहिलो ब्लक त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो । पहिलो ब्लकलाई २ सय ८६ वटा ग्रिड बनाएर गणना गरिएको थियो ।
क्यामेरा उठाएपछि दोस्रो भागमा जडान गरी गणना शुरू गरिएको थियो । दोस्रो भागमा १३ क्याम्प बनाएर गणना गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा, सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । यो ब्लकलाई ३ सय ३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जलाई तेस्रो ब्लक वनाएर गणना गरिएको थियो । त्यो ब्लकमा ३ सय ३६ ग्रिड निर्माण गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर गणना गरिएको हो । एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो । चितवन–पर्सा ब्लकमा ९ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो ।
निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका थिए । गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने गरेका थिए । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइन्छ ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ५५ बयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । यो गणनामा चितवनमा १ सय २८, बर्दिया निकुञ्जमा १ सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।