काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलन उक्साएको आरोप लगाएका छन्।
सोमबार झापा-४ स्थित झिलझिलेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले बालेनलाई खतरनाक भन्दै आलोचना गरे। ‘बालेन खतरनाक मान्छे हो, म राम्रोसँग चिन्छु,’ उनले भने, ‘त्यही मान्छे होइन जेनजीलाई आन्दोलनमा जान उक्साउने!’
देशलाई आवश्यक परेको वेला लुकेर बसेको र अहिले आएर भावी प्रधानमन्त्री भनेर प्रचार गरेको गुनासो गरे। ‘आउनुस् न त देश सम्हालौँ भन्दाखेरि फेरि ६ महिना लुकेर बस्ने! अहिले फेरि प्रधानमन्त्री हुने रे,’ उनले भने।
राष्ट्रिय मुद्दामा बालेन, रवि लामिछाने र कुलमान घिसिङ मौन बसेको साम्पाङको आरोप थियो। उनले एमसीसीको प्रसंग निकाल्दै भने, ‘बालेनले नो एमसीसी भनेर एउटा कार्यक्रम गरेर देखाओस्, अनि मात्र सोच्नुस् भोट हाल्ने कि नहाल्ने। रवि लामिछानेले नो एमसीसी भनेर देखाओस्। कुलमान घिसिङले नो एमसीसी भनेर देखाओस्।’
साम्पाङले प्रतिशोधको राजनीति गर्न नहुने तर्क गरे। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिशोधको राजनीति गरिरहेको उनको ठम्याइ थियो।
‘देशमा प्रगति चाहिन्छ, प्रतिशोध होइन। अहिले केपी ओलीलाई सोध्यो भने बालेनलाई ठिक पार्ने भन्छ, बालेनलाई सोध्यो भने केपी ओलीलाई ठिक पार्ने भन्छ,’ साम्पाङले प्रश्न गरे, ‘अनि भोकानांगा नेपालीले चाहिँ के गर्ने? के खाएर बाँच्ने?’