पोखरा । रास्वपा सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडित रास्वपा उम्मेदवारमाथि खनिएका छन् ।
पोखरामा शनिबार आयोजित उम्मेदवारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्नो छोराको विद्यालयको बिल थमाएका छन् । आफ्नो बचत हिनामिना हुँदा आफूले पैसा तिर्न नसकेको जैसीको भनाइ थियो ।
उनले बिनालाई विद्यालयको ८० हजार रुपैयाँको बिल दिएका थिए । आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको उनको दुःखेसो थियो ।
उम्मेदवार गुरुङले पार्टी सभापतिलाई उक्त बिल बुझाउने प्रतिक्रिया दिइन् । उनले सभापतिको बचाउमा केही बोलिनन् ।
संवाद कार्यक्रममा बिनाको प्रस्तुति निकै फितलो थियो । उनलाई प्रश्नको उत्तर सामना गर्न निकै असहज भएको देखिन्थ्यो ।
‘मभन्दा अग्रज यहाँ भएर उहाँहरुको अगाडि बोल्न सकिनँ होला । तर, यसको मतलब म केही काम गर्न सक्दिनँ भन्ने होइन,’ उनले आफ्नो बचाउमा बोलिन् ।
प्रश्नको उत्तर दिने क्रममा उनी बारम्बार अक्मकाएकी थिइन् । उनीमाथि पार्टीलाई ६० लाख रुपैयाँ दिएर टिकट ल्याएको विषय पनि संवादको क्रममा उठेको थियो ।
उनले टिकट पाएकोमा रास्वपाका नेता–कार्यकर्ता नै चकित छन् ।
कास्की–३ रास्वपाका जिल्ला सभापति यदुनाथ अधिकारीको निर्वाचन क्षेत्र हो । उनले टिकट पाउने चर्चा भइरहँदा बिना उम्मेदवार बनेपछि कास्कीमा सभापति अधिकारी पक्षधर असन्तुष्ट छन् ।