झापा । निर्वाचन प्रचारप्रसारका लागि आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्दैैछन् । बिहान दमक–९ को चियादोकानमा ९ः३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरुपमा गौरीगञ्ज केन्द्रित छन् । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदतालाई भेटघाट छन् ।
कार्कीका अनुसार ११ बजेदेखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ । यसबीचमा अध्यक्ष ओलीले गौरीगञ्ज–५ को श्ँयामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारका मतदतासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् ।
यस्तै, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।
कार्कीका अनुसार गौरीगञ्ज–३ मा बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ । यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका अध्यक्ष ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउने छन् ।