पर्सा । पोखरिया नगरपालिकामा नेकपा एमाले भित्रको आन्तरिक विवाद सतहमा आएको छ। पोखरिया नगर कमिटीका उप–सचिव मुस्तुफा आलमसहित विभिन्न तहका नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
नगर कमिटीका उप–सचिव मुस्तुफा आलम, वडा नं. ९ का वडा कमिटी अध्यक्ष धर्मेन्द्र पटेल, नगर कमिटी महिला उप–सचिव सुदामा देवी, नगर कमिटी सदस्य बलिराम मुखिया, राष्ट्रिय युवा संघ नेपाल पोखरिया कमिटीका उपाध्यक्ष रामनरेश मुखिया, सदस्य विकास मिश्र, बृजकिशोर राउत कुर्मी (गबर), सिकेन्द्र राम र उर्मिला देवीले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको जानकारी दिएका हुन्।
उनीहरूले पार्टी परित्यागको प्रमुख कारणका रूपमा विश्वम्भर शर्मा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि रहेको बताएका छन्। विज्ञप्तिमा जिल्ला नेतृत्वले कार्यकर्ताको भावना बेवास्ता गरेको, आन्तरिक लोकतन्त्र कमजोर बनाएको तथा पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाइएको छ।
पार्टीभित्र लामो समयदेखि बढ्दै गएको असन्तुष्टि, गुटगत राजनीति र नेतृत्वको एकलौटी निर्णय प्रक्रियाले आफूहरूलाई अलग हुन बाध्य बनाएको उनीहरूको भनाइ छ। स्थानीय तहसम्म संगठन कमजोर बनाउने गरी नेतृत्वले जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप पनि उनीहरूले लगाएका छन्।
यस घटनाले पर्सामा एमालेको संगठनात्मक अवस्था कमजोर बन्दै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। स्थानीय तहका जिम्मेवार नेताहरूको सामूहिक बहिर्गमनले आगामी राजनीतिक समीकरणमा समेत असर पार्ने देखिएको छ।