पोखरीया । भूमि सुधार तथा मालपोत कार्यालय पोखरियाको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन्।
मालपोत कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख रामजी साहले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यहरूले सरकारी कार्यालय र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“कार्यालय केवल प्रशासनिक काम गर्ने थलो मात्र होइन, समाजप्रति उत्तरदायी संस्था पनि हो। रक्तदानजस्ता कार्यक्रमले मानवीय संवेदनालाई मजबुत बनाउनुका साथै सेवामुखी भावनाको विकास गर्दछ।”
कार्यक्रमको उद्घाटन मालपोत कार्यालयका प्रमुख रामजी साह र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेयका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवान कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा इन्द्रदेव चौरसिया, जितेन्द्र प्रसाद, उमेश साह, राकेश साह, सन्जितप्रसाद यादव, रामाकान्त चौधरी, अरविन्दप्रसाद चौधरी, राज यादव, ऋषि कुमार, ब्रिजेश चौरसिया, रामरेखा चौरसिया, कृष्ण कुशवाहा लगायतले रक्तदान गरेका थिए।
स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले सामाजिक सेवामा सरकारी निकायको सकारात्मक भूमिका प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।