पर्सा । पर्साको पकाहा मैनपुर गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मधुबनीमा होली पर्वको अवसरमा आयोजित होली मिलन समारोह उत्साहपूर्वक सम्पन्न भएको छ। नेपाल शिक्षक महासंघ पकाहा मैनपुर गाउँपालिका समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शिक्षण समुदायबीच आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ पकाहा मैनपुर गाउँपालिका समितिका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक प्रमा साह बर्नवालले होली पर्वले विविधताबीच एकता र आपसी सम्मानको भावना अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले यस्ता सांस्कृतिक कार्यक्रमहरूले शिक्षकहरूबीच आत्मीयता बढाउने र विद्यालयको शैक्षिक वातावरणलाई थप सकारात्मक बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, पकाहा मैनपुर गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जय चौहानले विद्यालय केवल पठन–पाठनको केन्द्र मात्र नभई सामाजिक र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने स्थल पनि भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समुदाय र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउने धारणा राख्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सहनीले होली मिलन समारोहले विद्यालय परिवारबीच सहकार्य र भाइचारा बढाउने काम गरेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रंग–अबिर साटासाट गर्दै सहभागीहरूले शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रमले शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीच सकारात्मक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।