धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका कारण युवकको हत्या हुन पुगेको जाकारी गराएको छ ।
धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराउँदै तीन जना पक्राउ परेको बताएको छ ।
धनुषाको औरही गाउँपालिका ६ चक्करस्थित खेतमा गत बिहीबार हंसपुरको २० वर्षीय सुमितकुमार मण्डलको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
धनुषा प्रहरीले अनुसन्धान गर्दै जाँदा २४ घण्टा नबित्दै सुमितको हत्या उनका प्रेमिका, काका र भाइ मिलेर गरेको पत्ता लगाएको छ ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले भने, ‘बुधबार साँझ ६ बजे सुमित सोही पालिकाका वडा नम्बर ६ सोनिगामा बस्ने प्रेमिका काजल मण्डलसँग भेट्न गएका थिए । सोही क्रममा काजलको काका परमेश्वर मण्डलले आफ्नो पसल बन्द गरी घरमा आउँदा दुबै जनालाई सँगै बसेकोदेखि सुमितलाई कोठाबाट बाहिर निकाली काजलका भाइ दिपेश मण्डललाई बोलाई दुबै जना मिलेर कुटपिट गरी पछाडि हात बाँधेर खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो ।’
घटना पश्चात पक्राउ पर्ने डरले मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले छिमेकी गाउँमा रहेको आफ्नो एक जना साथीको घरमा लुकाएर राखेका थिए ।
घटनामा संलग्न प्रेमिका काजल, उनका काका परमेश्वर र भाइ दिपेश तथा घटनामा प्रयोग भएका हतियार समेत नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका अनुसार सुमित र काजलबीच करिब १ वर्षदेखि चिनजान र कुराकानी भइरहेको थियो ।