पर्सा । पर्सामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजित चुनावी विद्यार्थी भेलामा निवर्तमान खानेपानी मन्त्री तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव ले शिक्षित युवा शक्तिलाई राष्ट्र निर्माणको मुख्य आधार भएको बताउनुभएको छ।
उहाँले भन्नुभयो, “देशको भविष्य राजनीतिले मात्र होइन, शिक्षित र सचेत युवाले तय गर्छन्। अबको परिवर्तनको नेतृत्व विद्यार्थीहरूले लिनुपर्ने समय आएको छ।”
युवाहरूलाई राजनीतिक चेतना, सामाजिक जिम्मेवारी र विकासमुखी सोचसँग जोडिन आग्रह गर्दै यादवले विद्यार्थी आन्दोलनलाई सकारात्मक परिवर्तनको शक्तिका रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अनेरास्ववियु पर्साका अध्यक्ष सुजित मण्डल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव तथा प्रवक्ता समीम बाबु खान प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ आलम लगायतको उपस्थिति रहेको थियो भने सञ्चालन रेयाज अंसारी ले गर्नुभएको थियो।
भेलामा सहभागी विद्यार्थीहरूलाई सम्बोधन गर्दै यादवले युवाशक्तिको एकता र सक्रिय सहभागिताले मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्नुभयो। उहाँको भनाइले कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई थप उत्साहित बनाएको आयोजकले जनाएको छ।