जनकपुरधाम । मिथिला नाट्यकला परिषद् (मिनाप) ले होली पर्वको अवसरमा जनकपुरधाममा आयोजना गर्दै आएको दुई दिवसीय होरी (होली) महोत्सव तथा महामूर्ख सम्मेलन कार्यक्रम अन्तर्गत आइतबार मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवलाई ३०औँ ‘महामूर्ख’ को उपाधि प्रदान गरेको छ ।
महामूर्खको उपाधि ग्रहण गर्दै सभामुख यादवले मिथिला नाट्यकला परिषद्ले मिथिलाको कला, संस्कृति र संस्कारलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । परिषद्का अध्यक्ष सुनिल मल्लिक, पूर्व अध्यक्ष प्रमेश झा, सुनिल मिश्रलगायतले दोसल्ला ओढाएर सम्मानपत्रसहित यादवलाई उपाधि प्रदान गर्नुभएको थियो ।
यस वर्षको महामूर्ख सम्मेलनमा सभामुख यादवसहित १६ जनालाई विभिन्न रोचक तथा व्यंग्यात्मक पदवी प्रदान गरिएको छ । यस्तै १६ पदवीमध्ये आधुनिक शिक्षामा योगदान दिएबापत राकेश कर्णलाई ‘वैशाखानन्द’, मैथिली अभियानी विभा झालाई ‘तिलविखनी’, कानुन व्यवसायी विपिनकुमार झालाई ‘लवरसट्का’, पत्रकार तथा साहित्यकार हिमांशु चौधरीलाई ‘जी हजुरिया’ सम्मान प्रदान गरिएको छ ।
त्यसैगरी कवि तथा साहित्यकार दिगम्बर झा दिनमणिलाई ‘पोङ्गा पण्डित’, शिक्षासँगै संस्कार प्रदान गर्ने निजी विद्यालयका सञ्चालक विश्वलाल सिंहलाई ‘पटमूर्ख’, जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेलाई ‘मनतोरिया’, न्युरो सर्जन डा. विजय राउतलाई ‘विसखोपडा’ तथा उद्योगपति प्रदीप चौधरीलाई ‘तरघुस्का’ उपाधिबाट सम्मानित गरिएको छ ।
सम्मेलनमा ह्यान्डबल खेलाडी पवन कर्णलाई ‘बज्रकिट’, सुन व्यवसायी पवन ठाकुरलाई ‘डपौरशंख’, मिथिला चित्रकार राजकुमारी मण्डललाई ‘तरघुस्की’, युवा लव अधिकारीलाई ‘लोढाशङ्कर’ तथा नेपाल टेलिभिजनका मैथिली समाचार वाचक दीपक कर्णलाई ‘लम्बोदर’ उपाधि प्रदान गरिएको छ ।
कार्यक्रममा दिगम्बर झा दिनमणि, पुनम झा मैथिल, पत्रकार सन्तोष कर्ण, विजयदत्त मणि लगायतका कविहरूले होरीमा आधारित कविता वाचन गरेका थिए भने परिषद्का कलाकारहरूले ‘दोकान’ नाटक क्षणिकासहित विभिन्न होरी गीत प्रस्तुत गर्नुभएको थियो ।