पर्सा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि राति १२ बजेदेखि सुरु भएसँगै पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनी चौकमा तोडफोड तथा चोरीका घटना सार्वजनिक भएका छन्। स्थानीय बासिन्दाका अनुसार सुरक्षाको पूर्ण जिम्मेवारी प्रहरी प्रशासनको काँधमा रहे पनि प्रभावकारी निगरानी नहुँदा पसलहरू असुरक्षित बनेका हुन्।
स्थानीयका भनाइअनुसार विगत ३–४ दिनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सम्पूर्ण पसलहरू बन्द गराउँदै आएका थिए। पसल बन्द गर्न नमानेका केही व्यवसायीलाई प्रहरी चौकी धोरेका असई भन्टु प्रसाद यादवले नियन्त्रणमा लिई रातभर थुनामा राखेर बिहान मात्र छोड्ने गरेको आरोपसमेत लगाइएको छ।
तर सम्पूर्ण पसलहरू बन्द भइसकेको अवस्थामा रातिको सुरक्षाको जिम्मेवारी वहन गर्नुपर्ने प्रहरी प्रशासनले आवश्यक सतर्कता नअपनाउँदा चोरी र तोडफोडका घटना भएको स्थानीयको गुनासो छ।
मधुबनी चौकस्थित सुर्य सहनीको होटेलबाट टेबुल–कुर्सी चोरी भएको छ भने पसलअगाडि राखिएको काउन्टरमा तोडफोड गरिएको छ। त्यस्तै चौकमै रहेको कन्हैया दासको होटेलमा पनि तोडफोड गरिएको छ। मासु पसलको काउन्टर, किराना पसलअगाडि राखिएको बस्ने बेञ्चसमेत चोरी भएको बताइएको छ।
घटनास्थलको उत्तरतर्फ करिब २०० मिटर दूरीमा सशस्त्र प्रहरी बल पकाहाँ मैनपुरको क्याम्प र दक्षिणतर्फ करिब १ किलोमिटर दूरीमा प्रहरी चौकी धोरे रहेको छ। यति नजिक सुरक्षा निकायका संरचना हुँदाहुँदै पनि रातिको समयमा खुलेआम चोरी र तोडफोड हुनु प्रशासनको गम्भीर कमजोरी भएको स्थानीयको आरोप छ।
मौन अवधिमा शान्ति र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने निकाय स्वयं निष्क्रिय देखिएको भन्दै स्थानीय व्यवसायीहरू त्रसित बनेका छन्। घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा आगामी दिनमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन स्थानीयले माग गरेका छन्।