पर्सा । जिल्ला सुरक्षा समिति पर्साको निर्णयअनुसार तोकिएको अवधिमा भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएपछि नियम उल्लङ्घन गर्ने २० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
जिल्ला सुरक्षा समिति पर्साले मिति २०८२ साल फागुन १८ गतेदेखि फागुन २१ गते मध्यराति १२:०० बजेसम्म पर्सा जिल्लाभर भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न नपाइने निर्णय गरेको थियो। उक्त निर्णयको अवज्ञा गर्दै सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकल इलाका प्रहरी कार्यालय पोखरीयाले नियन्त्रणमा लिई कार्यालय परिसरमा राखेको जनाएको छ।
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक प्रदीप पौडेलले सुरक्षाको दृष्टिले तथा कानुन कार्यान्वयनका लागि यस्तो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “जिल्ला सुरक्षा समितिको निर्णय सबैले अनिवार्य रूपमा पालना गर्नुपर्छ। शान्ति सुरक्षा र सार्वजनिक हितलाई मध्यनजर गर्दै गरिएको निर्णयको कार्यान्वयनमा प्रहरी दृढतापूर्वक लागिरहेको छ। सर्वसाधारण नागरिकलाई नियमको पालना गरी प्रशासनलाई सहयोग गर्न अनुरोध गर्दछु।”
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन सम्बन्धित प्रक्रिया पूरा गरी आवश्यक कारबाही अघि बढाइनेछ। साथै, तोकिएको अवधिभर निर्णय विपरीत सवारी साधन सञ्चालन नगर्न सबैसँग आग्रह गरिएको छ।