अहिले इरान राजनीतिक रूपमा ध्वस्त छ । इरानी जलसेनाको जहाज डुबिसकेको छ । इरानभित्रका हजारौँ निसानाहरू हवाई हमलामा परेर नष्ट भएका छन् । इरानले हमलामा प्रयोग गरेका हजारौँ ड्रोन र क्षेप्यास्त्रहरू आकाशमै ध्वस्त पारिएका छन् । जताततै सैन्य सफलताका विवरणहरू बिच पनि इजरायल, अमेरिका र खाडी मुलुकहरू असहज अनुभव गरिरहेका छन् ।
उनीहरूलाई इस्लामिक रेभोलुशनरी गार्ड कर्प्स (आईजीआरसी) एकताबद्ध रहिरह्यो भने के होला भन्ने चिन्ता छ । इरानले सस्तो ड्रोन, क्षेप्यास्त्र र साना ढुङ्गाको प्रयोग गरेर निरन्तर आक्रमण गरिरह्यो भने के होला भन्ने चिन्ता छ ।
पर्सियाली खाडीमा चलिरहेको युद्धमा त्यस्तै परिदृश्य देखापरिरहेको छ । अमेरिकी ‘डिष्ट्रोयर’ लाई निशाना बनाएर साना ड्रोनहरू तीव्र गतिमा आउँछन् । लगत्तै त्यहाँको ‘अलार्म’ बज्न थाल्छ । डिष्ट्रोयरको प्रतिरक्षा प्रणालीका महँगा ‘सेन्सरहरू’ बज्न थाल्छन् । साना ड्रोनलाई ताकेर क्षेप्यास्त्र प्रहार गरिन्छ ।
पानीमाथि उड्ने त्यस्ता सामान्य ड्रोन केही हजार डलरमै तयार हुन्छन् । तर तिनीहरूलाई नष्ट गर्नका लागि दशौँ लाख डलर खर्च हुन्छ । डिष्ट्रोयर जोगाउनका लागि त्यस्तै विविध खालका प्रतिरक्षा प्रणाली चाहिन्छन् ।

यी सबै घटनाहरूले युद्धको नयाँ अर्थशास्त्र देखाइरहेका छन् । सस्तो सामानले महँगोलाई जित्न सक्छ । ठुलो सङ्ख्यामा प्रहार गरिने साना हतियारले अति उन्नत हतियारलाई हराउँछन् । गतिले पुरानो अभ्यासलाई हराउँछ । अहिले इरान ठुलो सङ्ख्यामा ड्रोन, क्षेप्यास्त्र तथा साना ढुङ्गामा निर्भर छ ।
दशकौँदेखिको अभ्यास, उत्पादन र प्रभावकारी प्रयोगका कारण त्यस्तो भएको होइन । इरानी हतियार र ड्रोनहरू अमेरिकी एवं इजरायली प्रतिरक्षा प्रणालीलाई अस्तव्यस्त पार्न सक्षम भएकाले हो । इरानी सस्ता हतियारले महँगो खर्चमा प्रतिरक्षा गर्नुपर्ने अवस्था सिर्जना गर्छन् । यसले थोरै खर्चमा पनि अर्को पक्षको युद्धको लागत ज्यादै बढाइदिएको छ ।
प्रत्येक सफल प्रतिरक्षा प्रणालीहरू अत्यन्त: आर्थिक क्षति वा घाटामै पुग्ने गरेका छन् । साथै राडार र सेन्सर जस्ता अर्बौँ डलरका महँगा पूर्वाधारहरू विस्थापन गर्न वर्षौँ लाग्छ । साथै कुनै पनि बखत सामान्य ड्रोनले नै ध्वस्त हुने सम्भावना पनि त्यत्तिकै रहन्छ । र, कार्यनीतिक रूपमा भएको विजय रणनीतिक पराजयमा पुगेर पनि टुङ्गिन सक्छ ।
_emYRkN4Onh.jpg)
इरानले युद्धको नयाँ अर्थशास्त्रमा जित्छ वा हार्छ यसै भन्न सकिने अवस्था छैन । तथापि उसले धेरै ठुलो मूल्य चुकाएरै हार्ने सम्भावना देखिन्छ । जारी युद्धले धेरै सन्दर्भमा महत्त्वपूर्ण मानक कायम गर्ने भने पक्का छ । प्राविधिक रूपमा सर्वोच्चता हासिल गर्दै चुस्त र प्रस्ट सैन्य हमलाले जित हात पर्ने पुरानो अमेरिकी एवं पश्चिमा विचार अब धराशायी हुँदैछ ।
रुस र इरान जस्ता प्रतिद्वन्दीहरुले प्रतिरक्षामा उत्रिने शक्तिलाई न्यून लागतका आक्रमणमार्फत महँगो खर्च गराउने काम बारम्बार गर्दै आएका छन् । यसमा अनौठो विषय भने केही पनि छैन । युक्रेन तथा अन्य क्षेत्रमा वर्षौँदेखि नयाँ सैन्य यथार्थ हाम्रा सामु प्रस्टै छ ।
तर पश्चिमा निर्णयकर्ताहरू, सैन्य योजनाकार तथा हतियार निर्माताहरू भने नयाँ यथार्थबारे सुनेको नसुन्यै गर्दै आएका छन् । यसमा अहङ्कारले पनि काम गरिरहेको छ । उनीहरू ‘यस्तै चल्छ’ भन्ने मनोविज्ञान एवं कर्मचारीतन्त्रको अकर्मण्यताबाट गुज्रिरहेका छन् ।

युद्धमा ठुलो सैन्य खर्चसहित आक्रमणमा संलग्न हुनेहरू हारिरहेका हुन्छन् । सस्तो खर्चमा युद्ध हार्नेहरू भने आखिरमा आफ्नो लक्ष हासिल गर्न सक्षम हुन्छन् । धेरै महँगोमा हार्नेहरूले जस्तो अवस्थामा पनि धेरै गुमाउँछन् । युद्धको नयाँ अर्थशास्त्रले शक्तिको भूराजनीतिक सन्तुलन कसरी परिवर्तन गर्न सक्छ भन्ने अहिले हामी खाडीमा चलिरहेको युद्धमा प्रस्ट देखिरहेका छौँ ।
हवाई प्रतिरक्षाको मामलामा वर्षौँदेखि हामी युक्रेनमा पनि त्यस्तै परिदृश्य देखिरहेका छौँ । त्यही अवस्था अहिले खाडी क्षेत्रमा पनि थप मुखर भएर अनुभूत हुँदैछ । इरान र रुसले ड्रोन र क्षेप्यास्त्रको उत्पादन औद्योगिक स्तरमा गरिरहेका छन् । उनीहरूको उत्पादन निरन्तर बढिरहेको छ ।
उता रुस–युक्रेन युद्धको चार वर्ष पुग्नै लाग्दासमेत हवाई प्रतिरक्षा र निर्देशित क्षेप्यास्त्र (गाइडेड मिसाइल) को उत्पादन भने पश्चिमाहरूले खासै बढाउन सकेका छैनन् । अहिले आएर वर्षभरि लगाएर उत्पादन गरिने ‘थाड’ र ‘प्याट्रीअट’ जस्ता क्षेप्यास्त्र प्रणालीहरू केही दिनमै प्रहार हुन थालेका छन् ।
संसारभर चाहे त्यो युक्रेन, युरोप, अमेरिका वा अहिले खाडी मुलुकहरूमा समेत सीमित रूपमा मात्रै उपलब्ध आपूर्तिमा सबैको तानातान छ । यद्यपि संसारभर उपलब्ध वित्तीय स्रोत हतियार र प्रतिरक्षा प्रणाली उत्पादनमा अपुग हुने देखिन्छ । उता रुसी र इरानी ड्रोन एवं क्षेप्यास्त्र उत्पादन भने आफ्नो भन्डार अनवरत रूपमा भर्न सक्षम देखिएका छन् । चीनले यो सबै परिस्थितिलाई मिहिन ढङ्गले नियालिरहेको छ ।
यसबाट उसले आगामी दिनका लागि ठुलो शिक्षा लिइरहेको छ । यो अवस्थामा नेटो मुलुकहरू खासगरी युरोपेली नेटो सदस्यहरू अहिले राम्रो स्थितिमा छैनन् । उनीहरूले उच्चस्तरको प्रतिरक्षा प्रणाली बनाएका छन् । साथै त्यही स्तरको प्रणाली नै खरिद गरिरहेका छन् । प्रतिरक्षा प्रणाली निर्माणको मामलामा युरोप अहिले जटिलताबारे धेरै ख्याल गर्छ ।
_r9hXoB5MhC.jpg)
त्यहाँका नीति निर्माता एवं उत्पादकको दिमागमा ‘सबैथोक जटिल छन् । केही सरल र सहज छैन । हाम्रो प्रणाली जति तीव्र केही छैन’ भन्ने जस्ता बुझाइले घर गरेको छ । तर थोरै सङ्ख्यामा मात्रै रहेका उच्च गुणस्तरका प्रणालीले युरोपलाई जोगाउन सक्दैन । गति नभएको जटिलता प्रभावकारी हुँदैन । युरोपले दक्षता मात्रै हेरेर बस्न खोज्दा दुस्मनहरू भने ठुलो मात्राको उत्पादनमा भर पर्न थालेका छन् ।
अहिलेको जस्तो युद्धमा पूर्णरुपमा प्रभावकारी भनिएका प्रणालीहरू पनि निर्णायक नहुने भए । प्याट्रीअट क्षेप्यास्त्र त्यस्तै उच्च गुणस्तर र क्षमताको प्रणाली हो । तथापि हामीसँग निर्देशित क्षेप्यास्त्रहरू धेरै नहुँदा प्याट्रीअटलाई हामी सजिलै विस्थापन गर्न सक्दैनौँ । न्यूनतम भण्डारणसमेत नघटाई हामी तत्काल थप्न पनि सक्दैनौँ । त्यसो हुँदा जति नै प्रभावकारी मानिएता पनि प्याट्रीअट प्रणाली पनि असमान (असिमेट्रिक) हमलाको बोझसामु निरीह बन्न पुग्छ ।
युद्धको नयाँ अर्थशास्त्रले हामीलाई फरक तरिकाले सोच्न बाध्य बनाइरहेको छ । यसै साता अमेरिकी सेनाले पनि इरानी ‘शाहेद ड्रोन’ हरू जस्तै सस्ता ड्रोनहरूको नक्कल गर्ने तथा युद्ध मैदानमा तैनाथ गर्ने घोषणा गरेको छ । अहिले युद्धका लागि ठुलो मात्रामा सरल र बलियो प्रणालीहरू चाहिएको छ । प्रतिरक्षा र प्रतिरोध दुबैका लागि औद्योगिक स्तरको उत्पादन चाहिएको छ ।
युद्धको आवश्यकता र गम्भीरता बढ्दै जाँदा आवश्यक उत्पादन बढाउँदै जान मिल्ने बनाउनुपरेको छ । यसका लागि गतिलाई अनुमति दिने राजनीतिक निर्णय आवश्यक छ । त्यसो गर्नका लागि आक्रामक प्रविधि तथा तदनुकूल औद्योगिक नीति चाहिन्छ, जसले सुरक्षालाई आफ्नो मुख्य कामको रूपमा हेरोस् ।
(नेशनल इन्ट्रेस्टबाट)