पर्सा । पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नं. १ स्थित धोरे–भेलाही सीमानाकामा तस्करीको सामान नियन्त्रणमा लिने क्रममा सुरु भएको विवाद अन्ततः प्रहरीलाई सामान फिर्ता गर्नुपर्ने अवस्थासम्म पुगेको छ।
प्राप्त जानकारीअनुसार भारतको भेलाही बजार बाट अवैध रूपमा ल्याइँदै गरेको किराना सामग्रीबारे सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल वीरगञ्जबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
सो क्रममा एक स्थानीय व्यक्तिले मोटरसाइकलमा किराना सामान बोकी नेपालतर्फ प्रवेश गरिरहेको अवस्थामा प्रहरीले मोटरसाइकलसहित सामान नियन्त्रणमा लिएको थियो।
तर ती व्यक्ति स्थानीय बासिन्दा भएकाले गाउँमा पुगेपछि उनले अन्य मानिसहरूलाई उचाल्दै प्रहरीविरुद्ध नाराबाजी गर्न लगाएको बताइएको छ। केहीबेरमै स्थानीयको भीड बढ्दै गएपछि सुरक्षाकर्मीको संख्या कम भएकाले स्थिति तनावपूर्ण बनेको थियो। स्थानीयहरूले बाटो अवरोध गर्दै प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए।
स्थिति थप जटिल बन्दै गएपछि अन्ततः स्थानीय जनप्रतिनिधि तथा गाउँका केही प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा छलफल गरिएको थियो। त्यसक्रममा नियन्त्रणमा लिइएको किराना सामान तस्करीको नभई ‘बिहे प्रयोजनका लागि ल्याइएको’ भन्दै मुचुल्का तयार पारिएको र प्रहरीले मोटरसाइकलसहित सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको स्रोतले जनाएको छ।
घटनापछि सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणको प्रभावकारिता र सुरक्षाकर्मीमाथि स्थानीय दबाबको विषयलाई लिएर चर्चा सुरु भएको छ।