विश्वको तेल आपूर्तिको २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने होर्मुज समुद्री नाका अहिले विश्व अर्थतन्त्रको सबैभन्दा संवेदनशील ‘चोकपोइन्ट’ बनेको छ । २८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही अपरेसन एपिक फ्युरीपछि इरानले हर्मुजमाथि नाकाबन्दी गरेको छ ।
इरानी क्रान्तिकारी गार्ड कोर (आइआरजीसी) ले होर्मुज भएर जाने जहाजलाई आगो लगाउने चेतावनी दिँदै ‘सी-माइन’ र ड्रोन आक्रमण सुरु गरेको छ । यसले विश्व तेल बजारमा अभूतपूर्व संकट निम्त्याएको छ । अहिले ब्रेन्ट क्रुडको मूल्य १२६ डलर प्रति ब्यारेलसम्म पुगेको छ ।
तर होर्मुज नाका विवादमा परेको यो पहिलो पटक होइन । यद्यपि होर्मुजमा कहिल्यै पूर्ण रूपमा लामो समय नाकाबन्दी भने भएको थिएन । धम्की, हमला र माइनिङका कारण बारम्बार आंशिक नाकाबन्दी भने हुँदैआएको थियो ।
विश्वको ‘तेल धमनी’
होर्मुज समुद्री नाका फारसको खाडी र ओमानको खाडीबिच जोड्ने साँघुरो समुद्री नाका हो । यसको उत्तरमा इरान र दक्षिणमा ओमानको मुसन्दाम प्रायद्वीप पर्दछ । होर्मुज नाकाको कुल लम्बाइ १६७ किलोमिटर छ भने चौडाइ ३९ किलोमिटरदेखि २१ किलोमिटरसम्म खुम्चिएको छ ।

यसको सबैभन्दा साँघुरो भागमा दुईवटा समुद्री लेनहरू छन्, जहाँ प्रत्येक लेन २ माइल चौडा छ । २०२३–२०२५ को तथ्याङ्कअनुसार दैनिक औसत १८ देखि २१ मिलियन ब्यारेल तेल र विश्वको कुल तरल प्राकृतिक ग्यास (एलएनजी) को झन्डै २० प्रतिशत हिस्सा होर्मुज भएर जान्छ । यसको ८५ प्रतिशत तेल एसियाली देश विशेषगरी चीन, भारत, जापान र दक्षिण कोरियातर्फ जान्छ ।
ऐतिहासिक रूपमा होर्मुज नाका प्राचीन कालदेखि नै एउटा महत्वपूर्ण व्यापारिक मार्ग थियो । मुगल बादशाह बाबरको संस्मरणमा समेत यहाँको व्यापारबारे उल्लेख छ । १० औँ देखि १७ औँ शताब्दीसम्म यहाँ समृद्ध ओर्मुस राज्य थियो । सन १५०७ देखि १७५० सम्म पोर्चुगिजहरूले यसमा नियन्त्रण जमाएका थिए । सन् १९७१ मा बेलायत मध्यपूर्वबाट फिर्ता भएपछि इरानले यहाँ आफ्नो शक्ति विस्तार गर्यो ।
प्रारम्भिक तनाव (१९७०-१९८०)
सन् १९०८ मा इरानमा तेल भेटिएपछि होर्मुज नाकाको महत्त्व ह्वात्तै बढ्यो । सन् १९७१ मा बेलायतको बहिर्गमनपछि इरानले अबु मुसा टापु कब्जा गर्यो, जसले इराकसँगको तनाव बढायो ।
सन् १९७९ को इरानी क्रान्तिपछि नयाँ सत्ताले होर्मुज नाकामा पूर्ण नियन्त्रणको दाबी गर्यो । सन् १९८० मा इराकले इरानमाथि आक्रमण गरेपछि ८ वर्ष लामो इरान–इराक युद्ध सुरु भयो, जसले होर्मुजको सुरक्षालाई पहिलो पटक विश्वव्यापी संकटको रूपमा उभ्यायो ।
इरान-इराक युद्ध र ‘ट्याङ्कर वार’ (१९८१-१९८८)
ट्याङ्कर वार युद्धको समुद्री चरण थियो । इराकले २८३ र इरानले १६८ वटा जहाजहरूमाथि आक्रमण गरे ।
मार्च १९८४ मा इराकी मिसाइलले भारतीय जहाज ‘एपिजे अम्बिका’ डुबायो । सन् १९८७ मा इरानले होर्मुजमा माइन बिछ्यायो । जुलाई २४ मा अमेरिकी जहाज ‘एसएस ब्रिजटन’ क्षतिग्रस्त भयो ।
१८ अप्रिल १९८८ मा अमेरिकाले ‘अपरेसन प्रेयिङ म्यान्टिस’ सुरु गर्यो । यसमा इरानी माइन लेयर जहाजहरू नष्ट गरिए र ४ इरानी नाविक मारिए । जुलाई ३, १९८८ अमेरिकी युद्धपोत ‘युएसएस भिन्सेन्स’ ले इरानी यात्री विमान (इरान एयर ६५५) लाई गल्तीले खसाल्दा २९० जनाको मृत्यु भयो ।
इरानले होर्मुज बन्द गर्ने धम्की दिए पनि ऊ आफैँ तेल निर्यातका लागि यसमा निर्भर थियो । अन्तत: अमेरिकाले ‘अपरेसन अर्नेस्ट विल’ मार्फत कुवेती ट्याङ्करहरूलाई सुरक्षा दिएर यो मार्ग खुला राख्यो । यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो अपरेसन थियो ।
युद्धपछि धम्कीको शृङ्खला (१९९०-२०२५)
इतिहासमा होर्मुज नाका बारम्बार राजनीतिक बार्गेनिङको हतियार बन्यो । सन् २००८ र २०११–१२ को समयमा इरानले अमेरिकी प्रतिबन्धविरुद्ध यो नाका बन्द गर्ने धम्की दियो । त्यसपछि तेलको मूल्य ४ प्रतिशतले बढ्यो, तर सैन्य दबाबका कारण बन्द भएन ।
सन् २०१८-१९ मा ट्रम्प प्रशासनले आणविक सम्झौता (जेसीपीओए ) छोडेपछि इरानले फेरि धम्की दियो । २०१९ मा दुईवटा ट्याङ्करमा विस्फोट भयो र इरानले ब्रिटिस जहाज ‘स्टेना इम्पेरो’ जफत गर्यो ।
सन् २०२५ जुनमा इजरायली आक्रमणपछि इरानी संसद्ले होर्मुज नाका बन्द गर्ने पक्षमा मतदान गरे पनि अन्तिम समयमा रणनीतिक सुरक्षा परिषद्ले यसलाई रोकेको थियो ।

यसपटक इतिहासमै पहिलो प्रभावकारी नाकाबन्दी
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु र अमेरिकी हमलापछि इरानको आईआरजीसीले होर्मुज नाकालाई ‘निषेधित क्षेत्र’ घोषणा गर्यो ।
इजरायल आक्रमणपश्चात मार्च १ र २ मा इरानी ड्रोन र मिसाइलले भारतीय र अन्य अन्तर्राष्ट्रिय ट्याङ्करहरूलाई क्षति पुर्याए । जसको प्रत्यक्ष असर ट्यांकरहरूको बीमा शुल्कमा पर्न गयो । बीमा शुल्क ४ देखि ६ गुणा बढेको छ ।
मार्च १० मा इरानले होर्मुजका मुख्य लेनमा १२ वटा शक्तिशाली माइन बिछ्याएको छ । अमेरिकाले प्रतिकार गर्दै १६ वटा इरानी ‘माइनलेयर’ जहाज नष्ट गरेको पनि छ । मार्च १२ मा माइन र निरन्तरको ड्रोन हमलाका कारण व्यावसायिक तेल निर्यात ठप्प भयो ।
अहिले अमेरिकाले ‘अपरेसन अर्नेस्ट विल’ को नयाँ संस्करण जस्तै फ्रान्स, बेलायत र इटालीसँग मिलेर ट्याङ्करहरूलाई ‘एस्कोर्ट’ गर्ने तयारी गरिरहेको छ ।
विकल्प के ?
होर्मुज नाकाबन्दी हुँदा सकट टार्न विश्वसँग सीमित तर महत्वपूर्ण विकल्प छन् ।
पहिलो विकल्प भनेको साउदी अरेबियाको पूर्व–पश्चिम पाइपलाइन (पेट्रोलाइन) हो । १२०० किलोमिटर लामो यो पाइपलाइनले अबकाइकबाट रेड सीको यान्बु बन्दरगाहसम्म तेल पुर्याउँछ । यसको क्षमता दैनिक ५ देखि ७ मिलियन ब्यारेल छ । २०२६ को संकटमा साउदीले यसैमार्फत निर्यात जारी राखेको छ ।
चीनको सहयोगमा निर्मित ३८० किलोमिटर लामो युएईको हबसन–फुजैराह पाइपलाइनले अबुधाबीको तेल सिधै ओमानको खाडीमा रहेको फुजैराह बन्दरगाह पुर्याउँछ, जसले गर्दा होर्मुज नाका पार गर्नुपर्दैन । यसको क्षमता १.८ मिलियन ब्यारेल छ ।
अफ्रिकाको फेरो लगाएर जाने ‘केप अफ गुड होप’ मार्ग भएर जाँदा ३ हप्ता ढिलो र निकै महँगो हुन्छ ।
यस्तै इरानको गोरेह–जास्क पाइपलाइन इरानको आफ्नै बाइपास मार्ग हो, जसले प्रतिबन्धको समयमा उसलाई सहयोग गर्छ ।
विकल्पमा पनि चुनौती
होर्मुज नाकालाई बाइपास गर्न प्रयोग गरिने वैकल्पिक मार्गहरू भौगोलिक र प्राविधिक रूपमा उपलब्ध भएता पनि यीनीहरू हर्मुजको तुलनामा बढी जोखिमयुक्त र खर्चिला छन् ।
सबैभन्दा पहिलो र मुख्य समस्या क्षमताको सीमितता हो । होर्मुज नाकाबाट दैनिक करिब २ करोड ब्यारेल तेल गुज्रिन्छ । जबकि साउदी र यूएईका सबै पाइपलाइनहरूको कुल क्षमता जोड्दा पनि ७० देखि ८० लाख ब्यारेल मात्र पुग्छ ।
यसको अर्थ झन्डै ७० प्रतिशत तेल पाइपलाइनबाट जान सक्दैन । पाइपलाइनको मर्मत–सम्भार र सञ्चालन खर्च समुद्री ढुवानीको तुलनामा निकै उच्च हुन्छ ।
दोस्रो कारण- भौगोलिक र सुरक्षा जोखिम हो । साउदीको ‘पूर्व–पश्चिम पाइपलाइन’ र युएईको ‘हबसन–फुजैराह पाइपलाइन’ आफैँमा रणनीतिक निशानामा छन् ।
यमनका हुथी विद्रोही वा इरान समर्थित समूहहरूले यी पाइपलाइन र पम्पिङ स्टेसनहरूमा ड्रोन वा मिसाइल प्रहार गर्न सक्छन्, जसले गर्दा पूरै आपूर्ति प्रणाली एकै पलमा ठप्प हुनसक्छ । समुद्रमा जहाज डाइभर्ट गर्न सजिलो हुन्छ, तर जमिनमा गाडिएको पाइपलाइन क्षतिग्रस्त भएमा मर्मत गर्न हप्तौँ लाग्छ ।
तेस्रो चुनौती- ढुवानी लागत र समय हो । अफ्रिकाको ‘केप अफ गुड होप’ भएर जाने मार्ग प्रयोग गर्दा जहाजले झन्डै १० हजार किलोमिटर थप यात्रा गर्नुपर्छ । यसले यात्रा समय १५ देखि २० दिन थपिदिन्छ, जसले इन्धन खर्च, चालक दलको तलब र बीमा शुल्कमा भारी वृद्धि हुन्छ । अन्तत: यो थपिएको खर्च उपभोक्ताको खल्तीमा पुग्छ, जसले विश्वभरि नै महँगी बढाउँछ । त्यसैले यी विकल्प संकटकालीन समाधान मात्र हुन्, होर्मुजको पूर्ण प्रतिस्थापन होइनन् ।