वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखामा युथ एकेडेमी तालिमका लागि गरिएको सिफारिस प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। शाखाका कार्यसमिति सदस्य जितेन्द्र वर्माका छोरा–छोरीलाई सिफारिस गरिएको विषय सार्वजनिक भएपछि संस्थाभित्रै तीव्र आलोचना सुरु भएको हो।
मधेश प्रदेश कार्यालय, वीरगञ्जमा पठाइएको पत्रअनुसार युथ एकेडेमी तालिमका लागि एक महिला र एक युवा स्वयंसेवकको बायोडाटा सिफारिस गरिएको छ। उक्त सिफारिसमा पूजा वर्मा र राधेश्याम वर्माको नाम समावेश गरिएको छ, जो एउटै अभिभावकका सन्तान रहेको बताइएको छ।
आरोपअनुसार शाखाका मन्त्री विनोद गिरीले व्यापक छलफल नगरी तथा प्रक्रिया गोप्य राख्दै आफ्ना नजिकका व्यक्तिलाई प्राथमिकता दिँदै सिफारिस गरेको दाबी गरिएको छ। यस घटनाले संस्थाको पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
सम्बन्धित पक्षबाट यस विषयमा अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन। यद्यपि, संस्थाभित्रकै केही सदस्यहरूले यस्तो कार्यले नेपाल रेडक्रस जस्तो प्रतिष्ठित र मानवीय सेवामा समर्पित संस्थाको छविमा नकारात्मक असर पर्ने बताएका छन्।
नेपाल रेडक्रस सोसाइटीलाई स्वच्छ, निष्पक्ष र सेवामुखी संस्था मानिँदै आएको भए पनि पछिल्ला यस्ता घटनाले संस्थाप्रति जनविश्वास कमजोर बन्ने चिन्ता व्यक्त गरिएको छ। यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ।