

वीरगन्ज २७ कार्तिक : मानवसेवा आश्रम वीरगंजले ४ जनालाई पारिवारिक पुनःमिलन गराएको छ । आश्रमको बीरगञ्ज शाखाबाट सेवा लिईरहेका १ पुरुष र ३ महिलाको पुनर्मिलन भएको छ । भारतको बिहार घर वताउने उनीहरुलाई आश्रमको टिमले उनीहरुले बताएको ठाउँतिर लगेको हो । सबैजना मानसिक रुपमा कमजोर भएपनि आश्रमको औषधीउपचार पछि घर परिवार बताउन सक्ने भएका थिए । आश्रमका वीरगंज शाखा संयोजक दिवेश मानवसेवाका अनुसार २०७३ साल असार १६ गते आश्रमले मानसिक तथा शारिरीक रुपमा कमजोर रहेकी अन्दाजी ४० बर्षीय महिलालाई उद्धार गरेर मिरा मानव नामाकरण गरेको थियो । पहिलो पारिवारिक पुनर्मिलनमा बास्तविक नाम प्रतिमा मिश्र (मिरा दिदी) लाई सिरिवास बजार, बिहारमा बसोबास गर्ने २२ बर्षीय छोराले जिम्मा लिएका छन् । यस्तै पन्नापुर (मज्जफरपुर) को एक परिवारले ३ वर्षदेखी खोजि गरिरहेकी आमा नभेटिएपछि उनको श्राद्ध गर्ने अन्तिम तयारीमा जुट्दै थियो । त्यसैक्रममा मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलनको गाडी श्राद्ध गर्न आँटेको परिवारको घर अगाडी रोकिए पछि परिवारजनले पीडा र हर्ष सहितको आँशुले स्वागत गरेको आश्रमको दिवेशले बताउनुभयो । बीरगञ्ज महानगरपालिका, श्रीराम हल नजिकबाट उद्धार गरिएकी चमेली मानवको मानसिक साथै चर्मरोगको समस्याबाट समेत पिडीत थिईन् । यस्तै ५३ बर्षकी हेटौंडा उपमहानगरबाट उद्धार गरिएकी आश्रमले सुन्दरी आमा नाम राखिदिएको वास्तविक नाम लिलादेवी मिश्र रहेकी महिलालाई भेल्दी (सलखुवा), बिहार स्थित उनको माइतीमा पारिवारिक पुनर्मिलन गराएको छ । आश्रमको टिमले ३ वटा सुन्दर पारिवारिक पुनर्मिलन गराएको छ र सबैजनालाई परिवारले खोजि गरिरहेको जनाएको छ ।