वीरगञ्ज । इंटरएक्टिभ कोचिङ सेन्टर (ICC) द्वारा आयोजित “आधुनिक शिक्षाको सुरुवात तथा फेयरवेल बिदाई सेरेमनी २०८२” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एसईई परीक्षार्थी विद्यार्थीहरूको लक्ष्य निर्धारण तथा उज्ज्वल भविष्यको कामनासहित पुरानो ब्याचका विद्यार्थीहरूको विदाईका लागि कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम प्रमुख अतिथि डा. उमेश चौरसियाको आतिथ्य तथा कोचिङ सेन्टरका निर्देशक पवन पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिहरूमा राजेन्द्र कोइराला, डा. मिर्गेन्द्र सिंह यादव, श्याम बाबु यादव, नागनारायण सिंह, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य देवेश गुप्ता, बिनोद पटेल तथा बीपीएस कलेजका निर्देशक दीपक पटेल,मुकेश साह लगायतको उपस्थिति रहेको थियो। साथै सञ्चारकर्मी, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू तथा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। नियमित रूपमा कोचिङमा सहभागी विद्यार्थीहरूलाई पनि प्रोत्साहनस्वरूप सम्मान गरिएको थियो।
उक्त अवसरमा विद्यार्थीहरूले नृत्य तथा नाटक प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएका थिए। यसले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आधुनिक शिक्षाप्रति आकर्षण बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
छोटो समयमै पर्सा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल उक्त कोचिङ सेन्टरले पढाइसँगै खेलकुद, ल्याब भ्रमण, कम्प्युटर शिक्षा तथा स्वास्थ्य परीक्षणजस्ता अतिरिक्त गतिविधिहरूमा पनि विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ।
संस्थाले न्यून शुल्कमा विज्ञान तथा गणित विषय अध्यापन गराउँदै आएको छ भने एकाउन्ट, कम्प्युटर, सामाजिक र अंग्रेजी विषयहरू निःशुल्क रूपमा पढाउने व्यवस्था गरेको जनाएको छ। साथै प्रायोगिक कक्षा, फिल्ड भिजिट, साप्ताहिक परीक्षा, छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण, उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा गरिब र असहाय विद्यार्थीहरूका लागि निःशुल्क अध्ययनको व्यवस्था समेत गरिएको छ।
शिक्षा प्रदानसँगै सामाजिक सेवामा पनि सक्रिय रहेको यस संस्थाबाट गरिब, असहाय तथा जेहेनदार विद्यार्थीहरूले महत्वपूर्ण सहयोग प्राप्त गर्दै आएको बताएका छन्।