वीरगन्ज । नेपाल–भारत सम्बन्ध विस्तार, सनातन हिन्दु धर्मको प्रचार तथा नेपाललाई हिन्दु राष्ट्र बनाउने उद्देश्यसहित वीरगन्जका एक युवाले भारतको उत्तराखण्डस्थित केदारनाथसम्मको साइकल यात्रा सुरु गरेका छन्।
वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी यश सराफलाई शुक्रबार बिहान नेपाल–भारत सीमास्थित मितेरी पुलबाट भव्य बिदाइ गरिएको छ। विश्व हिन्दु परिषद् नेपालका वीरगन्ज महानगर प्रमुख ज्योति रुङ्गटा, उपाध्यक्ष अमित टिवडेवाल, सेवा प्रमुख अनुज गुप्ता, सोनु गुप्ता र बन्दना शर्मा लगायतले खादा र माला लगाई सफल यात्राको शुभकामना दिँदै उनलाई बिदाइ गरेका हुन्।
सराफका अनुसार यो यात्रा करिब १ महिनासम्म चल्नेछ, जसमा उनले करिब १४ सय किलोमिटर दूरी पार गर्ने लक्ष्य राखेका छन्। उनी विश्व हिन्दु परिषद् नेपाल, वीरगन्जका ‘गौ रक्षा प्रमुख’ समेत हुन्। यात्राका क्रममा सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै भारतीय विभिन्न संघ–संस्थासँग समन्वय गरिएको उनले जानकारी दिए।
धार्मिक पर्यटन प्रवर्द्धन र नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले गरिएको यस साहसिक यात्राको वीरगन्जबासीले प्रशंसा गरेका छन्।