काठमाडौं । संविधानविद् निलाम्बर आचार्य ले पछिल्लो समय देखिएको राजनीतिक धरपकडप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले देशमा भइरहेका गतिविधि ‘साह्रै नै नमिल्ने’ भएको उल्लेख गरेका छन्। उनले प्रतिशोधको भावनाबाट प्रेरित भएर गरिने धरपकडले राष्ट्रलाई कुनै पनि दृष्टिले फाइदा नपुर्याउने स्पष्ट पारे।
शनिबार बिहान प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै पूर्वप्रधानमन्त्री ओलीलाई पनि भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ गरिएको जनाइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले देशको राजनीतिक वातावरण थप संवेदनशील बन्दै गएको छ भने कानुनी प्रक्रिया र राजनीतिक प्रतिशोधबीचको सन्तुलनबारे गम्भीर बहस आवश्यक देखिएको छ।