काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक ले आफूलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाएका छन्। शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
पक्राउलगत्तै सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले यस घटनालाई राजनीतिक बदला लिने प्रयासको संज्ञा दिएका छन्। उनले भने, “पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको छ, यसविरुद्ध राजनीतिक र कानुनी दुवै मोर्चाबाट लड्न तयार छु।” साथै, मन्त्रिपरिषद्को निर्णयमार्फत पक्राउ गरिएको दाबी गर्दै उनले यसले कानुनी प्रणालीमाथि नै प्रश्न उठाएको बताए।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले पनि उक्त कदमलाई प्रतिशोधपूर्ण भएको टिप्पणी गरेका छन्। उनले राज्य संयन्त्रको दुरुपयोग भएको संकेत गर्दै निष्पक्षताको माग गरेका छन्।
यता, गृहमन्त्री सुधन गुरुङ ले भने सरकारले कानुनअनुसार नै प्रक्रिया अगाडि बढाएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले “कानूनभन्दा माथि कोही हुँदैन” भन्दै यसलाई प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन्।
यस घटनापछि देशको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ भने कानुनी र राजनीतिक दुबै दृष्टिले यसको प्रभाव कस्तो पर्ला भन्ने चासो बढेको छ।