जनकपुरधाम। देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै मधेस प्रदेशभर सुरक्षा सतर्कता उच्च बनाइएको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाल प्रहरी मुख्यालयले मधेस प्रदेशका सबै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा रहन निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको निर्देशनअनुसार शनिबार बिहानदेखि नै मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षा निगरानी कडा पारिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सबै प्रहरी इकाइलाई सक्रिय र सतर्क अवस्थामा राखिएको छ।
उनका अनुसार प्रदेशभरका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा राजनीतिक गतिविधि तथा सम्भावित आन्दोलनलाई सूक्ष्म रूपमा निगरानी गरिँदैछ। “हामीले सबै किसिमका गतिविधिमाथि ध्यान दिएका छौं, आवश्यक समन्वय गरेर प्रहरी परिचालनलाई तीव्र बनाइएको छ,” डीआईजी थपलियाले बताए।
यसैबीच, सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको छ। प्रदेशभर करिब १० हजार प्रहरी जनशक्ति उच्च सतर्कतासहित परिचालन गरिएको जनाइएको छ।
केही समयअघि भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको हो। उनीहरूको पक्राउपछि विरोध प्रदर्शन र आन्दोलन हुन सक्ने आकलन गर्दै मधेसमा विशेष सतर्कता अपनाइएको प्रहरीको भनाइ छ।