काठमाडौँ। नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा आइतबारदेखि औपचारिक रूपमा आन्दोलनमा उत्रने निर्णय गरेको छ। शनिबार बसेको आकस्मिक सचिवालय बैठकले सरकारको कदमको कडा आलोचना गर्दै चरणबद्ध प्रतिवाद कार्यक्रम अघि बढाउने निष्कर्ष निकालेको हो।
बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउलाई लोकतान्त्रिक मूल्य, विधिको शासन र राजनीतिक संस्कृतिविपरीत कदम भएको टिप्पणी गरे। उनले दुवै नेताको तत्काल रिहाइको मागसमेत गरे।
एमालेले आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ। यसअघि नै पार्टीका जनसंगठनहरूले शनिबारदेखि नै विरोधका गतिविधि सुरु गरिसकेको जनाइएको छ।
यसैबीच, भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेले असहमति जनाउँदै उक्त प्रतिवेदन न्यायिक सिद्धान्तविपरीत रहेको दाबी गरेको छ। पार्टीले निष्पक्ष र विश्वसनीय छानबिनका लागि नयाँ उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ।
एमालेले अन्य राजनीतिक दलहरूसँग समन्वय गरी संयुक्त आन्दोलन अघि बढाउने रणनीतिसमेत बनाएको छ। सोका लागि विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्टलगायत नेताहरूलाई जिम्मेवारी तोकिएको महासचिव पोखरेलले जानकारी दिए।
एमालेले वर्तमान घटनाक्रमले संविधान र लोकतान्त्रिक प्रणालीप्रति विश्वास राख्ने सबैलाई चिन्तित बनाएको उल्लेख गर्दै कानुनी तथा राजनीतिक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।