काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीहरूलाई कानुन कार्यान्वयनमा दृढ, निष्पक्ष र पारदर्शी रूपमा काम गर्न निर्देशन दिएका छन्। शनिबार ललितपुरस्थित जिल्ला प्रहरी परिसरको निरीक्षणका क्रममा उनले सुरक्षा निकायले जिम्मेवारीपूर्ण ढङ्गले काम गर्नुपर्नेमा जोड दिएका हुन्।
निरीक्षणका क्रममा मन्त्री गुरुङले जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुर तथा सातदोबाटोस्थित प्रहरी वृत्तको अवस्थाबारे जानकारी लिँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार मन्त्रीले प्रहरी संगठनभित्र अनुशासन, उत्तरदायित्व र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
त्यसैगरी, गृहमन्त्री गुरुङले रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन्।
मन्त्री गुरुङले सुरक्षा निकायप्रति नागरिकको विश्वास कायम राख्न कानुन कार्यान्वयनमा कुनै किसिमको ढिलासुस्ती वा पक्षपात हुन नहुने स्पष्ट पारेका छन्।