पर्सा । अन्तर्राष्ट्रिय दुसाद समाजद्वारा आयोजित नेतृत्व सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रम पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारी टोलमा सम्पन्न भएको छ।
नेपाल पासवान संघ, पर्साको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि अल इन्डिया पासवान एकता मञ्चका महासचिव डा. बिरेन्द्र पासवानले पासवान समुदायबीचको एकताले समग्र दलित मुक्ति आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो। उहाँले नेपालका पासवान समुदायको हितका लागि अल इन्डिया पासवान संघ सधैं प्रतिबद्ध रहने पनि स्पष्ट पार्नुभयो।
नेपाल पासवान संघ, पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री विश्वेन्द्र पासवान, पूर्वमन्त्री महेन्द्र पासवान, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य रञ्जित पासवान, अल इन्डिया पासवान एकता मञ्च बिहारका सचिव विशाल आनन्द, अल इन्डिया पासवान एकता मञ्च बेगुसरायका अध्यक्ष सुमन पासवान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसैगरी, कार्यक्रममा पासवान समुदायका अगुवा मटुक पासवान, सोनी देवी, जयकुमार पासवान, कमलेश पासवान, अमरदेव पासवान, श्याम पासवान लगायतको उपस्थिति रहेको थियो।