वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा शनिबार वीरगञ्जमा पार्टी कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। अध्यक्ष ओलीको गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको उपज भएको आरोप लगाउँदै उनीहरूले तत्काल रिहाइको माग गरेका हुन्।
पर्साको सदरमुकाम वीरगञ्जस्थित घण्टाघर चोकमा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका थिए। ‘राजनीतिक प्रतिशोध बन्द गर’ र ‘अध्यक्ष ओलीलाई बिना सर्त रिहा गर’ जस्ता नारासहित उनीहरूले प्रदर्शन गरेका थिए।
विरोध कार्यक्रममा नेकपा (एमाले) पर्साका जिल्ला अध्यक्ष विश्वम्बर शर्मा, नेता बिचारी यादव, जालिम मियाँ, लियाकत अलीलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले सरकारले विपक्षी नेतामाथि पूर्वाग्रही ढंगले दमन गरेको आरोप लगाउँदै यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुगेको बताएका थिए। उनीहरूले आवश्यकता परे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।
शनिबार बिहान भक्तपुरस्थित निवासबाट अध्यक्ष ओलीलाई प्रहरीले पक्राउ गरेपछि देशका विभिन्न स्थानमा एमालेले विरोध कार्यक्रमलाई तीव्र बनाएको छ।