पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सा ले एक सनसनीपूर्ण घटनामा आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी खुट्टा काट्ने श्रीमानलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पर्सागढी नगरपालिका वडा नं. ३ निवासी करिब ३० वर्षीय विश्वनाथ सहनीले घरेलु विवादका कारण आफ्नी श्रीमती २५ वर्षीया हीरकला देवी सहनीमाथि धारिलो हतियार (दाउ) प्रहार गरेका थिए। आक्रमणबाट श्रीमतीको दायाँ खुट्टा गम्भीर रूपमा काटिएको थियो।
घटना पश्चात् घाइतेलाई तत्काल उपचारका लागि एल.एस. न्यूरो एण्ड जनरल अस्पताल, परवानीपुर बारामा पठाइएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका सहनीलाई प्रहरीको विशेष टोलीले खोजी गरी पक्राउ गरेको हो।
हाल पक्राउ परेका विश्वनाथ सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।