धनकुटा । सरकारी स्वामित्वको जग्गा मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुखसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार साविक तांखुवा गाविस–९ अन्तर्गत पर्ने कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ को सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा सारिएको थियो। उक्त जग्गा २०६६ मंसिर २१ गते माधबहादुर भट्टराईको नाममा कायम गरिएको पाइएको छ।
मुद्दामा तत्कालीन मालपोत प्रमुख सुरेश थपलिया, शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालयका सर्वेक्षक राजेन्द्रप्रसाद यादव, गाविस सचिव भक्तबहादुर भट्टराई, नायब सुब्बा छविलाल फुयाँल र जग्गाधनी माधबहादुर भट्टराईलाई मुख्य आरोपी बनाइएको छ।
आयोगले मुख्य आरोपितहरूविरुद्ध जनही ६७ लाख ६८ हजार रुपैयाँ बिगो कायम गर्दै कैद सजायको माग गरेको छ। साथै, केही आरोपितविरुद्ध थप जरिवाना समेत माग गरिएको छ।
यसैबीच, प्रकरणमा संलग्न अन्य १० जनाविरुद्ध उक्त जग्गा जफत गर्न माग गरिएको छ। उनीहरूले हाल उक्त जग्गा स्वामित्वमा राख्दै आएको पाइएको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार सरकारी सम्पत्ति दुरुपयोग गरी व्यक्तिको नाममा सार्ने कार्यले राज्यलाई ठूलो क्षति पुगेको निष्कर्ष निकाल्दै कानुनी प्रक्रिया अघि बढाइएको हो।