सिरहा । सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूले लगातार चार महिनादेखि तलब नपाउँदा दैनिक जीवनयापन संकटमा परेको बताएका छन्। मङ्सिर महिनादेखि तलब तथा विभिन्न सुविधा रोकिँदा उनीहरू आर्थिक समस्यामा परेका हुन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले नगरपालिकाका सम्पूर्ण बैंक खाता रोक्का गरेपछि तलब वितरण अवरुद्ध भएको जनाइएको छ। यसका कारण विद्यालयमा पाठ्यपुस्तक वितरण, छात्रवृत्ति, दिवा खाजा तथा विद्यालय व्यवस्थापन अनुदानसमेत प्रभावित भएको छ।
एक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद साहका अनुसार तलब नआउँदा घरखर्च धान्न कठिन भएको मात्र होइन, बैंक ऋणको ब्याज तिर्न समेत समस्या भइरहेको छ।
नगरप्रमुख महेशप्रसाद चौधरीले भने खाता रोक्का हुनुको कारण प्रशासनिक सरुवा विवाद र राजनीतिक हस्तक्षेप भएको आरोप लगाएका छन्। उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतको सरुवा प्रकरणमा उत्पन्न विवादकै कारण मन्त्रालयले नगरपालिकालाई दबाबमा राख्दै खाता रोक्का गरेको हो।
यसअघि मन्त्रालयले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई सरुवा गरी खिम भुजेललाई पठाउने निर्णय गरेको थियो। तर सरुवाविरुद्ध मुद्दा परेपछि प्रशासकीय अदालतले उक्त निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो। त्यसपछि पनि खाता फुकुवा नभएको नगरपालिकाले जनाएको छ।
तलब भुक्तानी नहुँदा आक्रोशित कर्मचारीहरूले इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले नयाँ वर्ष २०८३ र सिरुवा पर्वअघि समस्या समाधान नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
लामो समयसम्म तलब रोकिँदा स्थानीय तहको सेवा प्रवाह र शैक्षिक गतिविधि दुवैमा गम्भीर असर परेको छ।