जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकमा विभिन्न दलका सांसदहरूले नवगठित सरकारसँग संघीयताको व्यवहारिक कार्यान्वयन, समावेशी शासन र विकास निर्माणमा स्पष्ट र प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। आइतबार सम्पन्न प्रदेश सभाको १४औँ बैठकमा बोल्दै सांसदहरूले सरकारप्रति आशा व्यक्त गरे पनि ठोस परिणाम दिनुपर्नेमा जोड दिएका हुन्।
सांसदहरूले संविधानले सुनिश्चित गरेका अधिकारहरू अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताए। उनीहरूले संघीय व्यवस्था लागू भएको लामो समय बितिसक्दा पनि जनताले अपेक्षित सेवा र अनुभूति पाउन नसकेको गुनासो गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का नेता सरोज यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने दायित्व वर्तमान सरकारको भएको उल्लेख गर्दै आफ्नो दलले सकारात्मक सहयोग गर्ने धारणा राखे। उनले सरकारलाई प्रतिशोधको राजनीति नगरी विधि र कानुनअनुसार अघि बढ्न सुझाव दिए।
त्यसैगरी जनता समाजवादी पार्टी का सांसद जयनुल राइनले बहुवर्षीय योजनाहरू अधुरै रहेकोप्रति चिन्ता व्यक्त गर्दै ती योजनालाई छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए। अन्य सांसदहरूले पनि प्रदेशको अधिकार, पहिचान र समावेशितालाई सुदृढ बनाउने दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
महिला सांसदहरूले समाजमा विद्यमान दाइजो प्रथा तथा लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रभावकारी नीति ल्याउन माग गरेका छन् भने दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषयमा पनि जोड दिएका छन्।
बैठकमा सहभागी सांसदहरूले विगतका अधुरा विकास आयोजना पूरा गर्दै जनअपेक्षा अनुसार परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्।