वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुशीलकुमार कानु २०७९ सालको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिका–१० का वडाध्यक्ष हुनुहुन्थ्यो। वडाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहिलो पटक प्रतिनिधि सभामा उम्मेदवारी दिएका कानु निर्वाचित हुन सफल हुनुभयो।
उहाँले निर्वाचनमा ३० हजार ७४० मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८९० मत प्राप्त गर्नुभयो। कानुले १८ हजार ८५० मतान्तरले विजय हासिल गर्दै पर्सा–२ मा आफ्नो स्थान सुरक्षित गर्नुभयो।
स्थानीय तहमा काम गर्ने क्रममा नागरिकका दैनिक समस्या, कृषि, शिक्षा, स्वास्थ्य, प्रशासनिक झन्झट, सामाजिक असमानता र अवसरको अभावलाई नजिकबाट बुझ्ने अवसर पाएको उहाँले बताउनुभयो। अब नीतिगत तहमा पुगेर संरचनात्मक सुधार गर्नुपर्ने सोचका साथ प्रतिनिधि सभाको निर्वाचन लडेको उहाँको भनाइ छ।
सांसद कानुले जनतासँग नजिक रहेर उनीहरूको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनतासँग प्रत्यक्ष सम्पर्कमा रहँदा उनीहरूको आवश्यकता बुझ्न र उत्तरदायी ढंगले काम गर्न सजिलो हुने उहाँको विश्वास छ।
उहाँले विधिको शासन स्थापना, सेवा प्रवाहमा भेदभाव अन्त्य, उद्योग–कलकारखाना सञ्चालन, सुशासन कायम र राष्ट्रहितमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भ्रष्टाचार नियन्त्रणका लागि राज्य संयन्त्रलाई जनताप्रति उत्तरदायी बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
गरिबी न्यूनीकरणका लागि कृषि नीतिमा सुधार आवश्यक रहेको उल्लेख गर्दै मल, बिउ र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको धारणा छ। पर्सा–२ अन्तर्गतका केही क्षेत्र सुगम भए पनि बहुदरमाई र पर्सागढी नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक पूर्वाधार कमजोर रहेको भन्दै त्यसको सुधारका लागि पहल गर्ने उहाँले बताउनुभयो।
त्यसैगरी, एकटाङ्गामा वर्षौँदेखि अधुरो रहेको पुल निर्माण सम्पन्न गराउने र पर्सागढीको झब्राह गाउँमा इन्टरनेट सेवा विस्तार गर्ने विषयमा पहल गर्ने उहाँले जनाउनुभयो।
वीरगन्ज–१० स्थित आदर्श सेकेन्डरी स्कुलबाट अध्ययन सुरु गरेका कानुले त्रिजुद्ध स्कुलमा कक्षा ८ सम्म अध्ययन गर्नुभयो। त्यसपछि पन्नालाल माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी ठाकुरराम क्याम्पसबाट व्यवस्थापन सङ्कायमा प्रवीणता प्रमाणपत्र तह पूरा गर्नुभएको हो।
सामाजिक सेवाबाट सार्वजनिक जीवन सुरु गरेका उहाँ घडीअर्वा स्पोर्ट्स क्लबमार्फत सक्रिय हुँदै पछि राजनीतिमा प्रवेश गर्नुभएको हो।