रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जिल्ला अदालत रौतहटका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अदालतमा कार्यरत डिट्ठा लवकुमार सिंह रहेका छन्।
अख्तियारका अनुसार सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा सिंहलाई मंगलबार अपराह्न अदालत परिसरबाटै रंगेहात पक्राउ गरिएको हो। उनले अदालतको फैसलाअनुसार दाखिल–खारेज प्रक्रिया मिलाइ जग्गा फुकुवा गरिदिने नाममा रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका सिंहको साथबाट घुस रकमसहित एक थान मोबाइलसमेत बरामद गरिएको अख्तियारले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जानकारी दिएको छ।