वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले झेल्दै आएका ढिलासुस्ती र जटिल प्रक्रियाप्रति ध्यानाकर्षण गराउँदै नवनिर्वाचित सांसदहरूले प्रत्यक्ष अनुगमन गरेका छन्। पर्सा–१ का सांसद हरि पन्त र पर्सा–२ का सांसद सुशील साह कानुले संयुक्त रूपमा कार्यालय पुगेर सेवा प्रवाहको अवस्था बुझेका हुन्।
अनुगमनका क्रममा उनीहरूले सेवाग्राहीसँगै बसेर समस्या सुने। सर्वसाधारणले एउटै कामका लागि धेरै कोठा धाउनुपर्ने, ‘तोक’ लगाउन ढिलाइ हुने र सानो कामका लागि समेत लामो समय कुर्नुपर्ने गुनासो गरेका थिए। प्रशासनिक प्रक्रिया अझै झन्झटिलो र समय खेर जाने खालको रहेको उनीहरूको भनाइ थियो।
यसैबीच, सांसदहरूले प्रमुख जिल्ला अधिकारी भोलादाहालसँग छलफल गर्दै सेवा सुधारका ठोस उपायबारे चासो व्यक्त गरे। प्रजिअ दाहालले सेवा प्रणालीलाई प्रविधिमैत्री बनाउने, कार्यसम्पादन छिटो बनाउने र बिचौलियाको प्रभाव घटाउन ‘एकद्वार प्रणाली’ कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए।
सांसदद्वयले जनताले सरकारी कार्यालयमा दुःख पाउनु अस्वीकार्य भएको बताउँदै सेवा छरितो, सरल र नागरिकमैत्री बनाउन आवश्यक सुधार तत्काल लागू गर्नुपर्नेमा जोड दिए। उनीहरूले सुधारका पहल प्रभावकारी रूपमा कार्यान्वयन भए सेवाग्राहीको समय र श्रम दुवै जोगिने विश्वास व्यक्त गरेका छन्।