काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले प्रहरी वृत्त मालिगाउँमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई)लाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय दिनेश राउत रहेका छन्।
अख्तियारका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालालाई रकम फिर्ता दिलाइदिने बहानामा राउतले सेवाग्राहीसँग २० हजार रुपैयाँ लिएका थिए। उक्त रकम लिइसकेको अवस्थामा उनलाई मंगलबार काठमाडौं महानगरपालिका–५ स्थित गहनापोखरीको एक क्याफेबाट नियन्त्रणमा लिइएको हो।
अख्तियारका अधिकारीका अनुसार राउतलाई रंगेहात पक्राउ गरिएको हो भने घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।